चुनावपछि आर्थिक विकासको गति अघि बढाउँछौँः प्रचण्ड
काठमाडौ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावपछि प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार गर्ने आसय व्यक्त गरेका छन् ।
बिहीबार नेपाल उद्योग परिसंघले आयोजना गरेको दुई दिने पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले अहिले देश विकासको लागि वातावरण तयार भएको उल्लेख गर्दै आगामी चुनावपछि देशको आर्थिक विकासमा ध्यान केन्द्रित गर्ने बताए ।
‘आगामी निर्वाचनपछि फेरि एकपटक देशलाई आर्थिक विकासमा गति दिनको निम्ति ऐन कानुनमा आवश्यक सुधार र संशोधनसहित राजनीतिक पार्टीहरू र अन्तर्राष्ट्रिय मित्रहरूबीचको सहकार्यलाई नयाँ उचाईमा उठाइनेछ,’ प्रचण्डले भने ।
राजनीतिक स्थिरतापछि सम्पूर्ण जीवन आर्थिक समृद्धिमा समर्पण गर्ने उनको भनाइ थियो । आगामी प्रदेश र प्रतिनिधिसभाको चुनावपछि आफ्नो नेतृत्वमा पुनः देशलाई आर्थिक विकासको गति दिन ऐन कानुनमा आवश्यक सुधार र संशोधन गर्ने उनको प्रतिबद्धता थियो । राजनीतिक पार्टी र अन्य देशहरूसँगको सहकार्यलाई नयाँ उचाईमा पुर्याउने प्रचण्डले दाबी गरे ।
‘संविधानसभाबाट संविधान घोषणा भएपछिको निर्वाचनअगाडि नेपाली जनता र अन्तर्राष्ट्रिय मित्रहरूको सामु पनि राजनितिक परिवर्तन र स्थिरताको निम्ति धेरै मेहनत गर्यौँ,’ प्रचण्डले भने, ‘अब बाँकी आर्थिक समृद्धिको लागि हाम्रो ध्यान केन्द्रित हुनेछ भनेर केही प्रयोग गर्न खोजियो । त्यो प्रयोग गरियो र सफल भएन ।’