Connect with us
Kapilvast Forest

काठमाडौँ उपत्यकामा सिटामोल अभाव

२०७९, २७ भाद्र सोमबारमा प्रकाशित

काठमाडौँ- काठमाडौँ उपत्यकामा सिटामोल अभाव भएको छ । उपत्यकासहित मुलुकभर डेङ्गुको सङ्क्रमण बढेसँगै बजारमा सिटामोल अभाव भएको हो । डेङ्गुविरुद्धको खास उपचार र औषधि नभएका र बिरामीले ज्वरो नियन्त्रणका लागि सिटामोल प्रयोग गर्नुपर्ने भएपछि सिटामोलको माग बढेको हो । डेङ्गुको सङ्क्रमणमा उच्च ज्वरो आउने भएकाले सिटामोल खान दिइन्छ ।

औषधि उत्पादकहरूका अनुसार बजारमा सिटामोल अभावको मुख्य कारण भने विगतमा सरकारले निर्धारण गरेको यसको अधिकतम मूल्य नै हो । सरकारले सिटामोलको उपभोक्ता मूल्य प्रतिट्याब्लेट एक रुपियाँ निर्धारण गरेको छ । तर, उत्पादकका अनुसार यसको उत्पादन लागत नै एक रुपियाँ ४० पैसा पर्छ । सोही कारण सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडबाहेक अन्य निजी उत्पादकले सिटामोल उत्पादन गर्दैनन् ।

नेपाल औषधि उद्योग सरकारी अनुदानमा चल्ने भएकाले उसले घाटा खाएरै भए पनि सिटामोल उत्पादन गर्दै आएको दाबी गर्दै आएको छ । उद्योग घाटामा भएपछि सरकारसँग अनुदान मागेको र रकम प्राप्त नभएपछि केही महिनायता उत्पादन घटाएका छन् ।

नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष प्रज्वलजङ्ग पाण्डे डेङ्गु सङ्क्रमण बढेकाले एकै पटक पारासिटामोल र सिटामोलको अत्यधिक मागका कारण बजारमा केही अभाव देखिनु स्वाभाविक भएको बताउनुभयो । तर, पारासिटामोल अभाव भए पनि हाहाकारको अवस्था भने नरहेको उहाँको दाबी छ ।

निजी व्यवसायीले व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत मात्रै पारासिटामोल उत्पादन गरेको भन्दै उहाँले पारासिटामलको मूल्य भारतमै एक चक्कीको दुई रुपियाँ १५ पैसासम्म पर्छ तर सरकारले नेपालमा यसलाई १४ वर्षदेखि एक रुपियाँ मूल्य तय गरेको छ र त्यही मूल्यमा उपलब्ध गराउँदै आएका छौँ ।

तीन दिनमा सहज

औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले सिटामोल बजारमा अभावभन्दा पनि माग एक्कासि बढेकाले सबै ठाउँमा उपलब्ध नभएको बताउनुभयो । उहाँले हाल बजारमा देखिएको सिटामोल अभाव अबको तीन दिनमा समाधान हुने दाबी गर्नुभयो ।

हाल बजारको मागलाई ध्यानमा राखेर विभागले आइतबार मात्रै सबै औषधि उत्पादक उद्योगीलाई सिटामोलको उत्पादन बढाउने विषयमा लिखित र मौखिक निर्देशन दिएको महानिर्देशक भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “औषधि उत्पादकले तीन दिनभित्र सबै ठाउँमा मागअनुसार सिटामोल उपलब्ध गराउने वचन दिएका छन्, आजै एउटा उद्योगले १५ लाख ट्याबलेट बजारमा पठाइसकेको जानकारी विभागमा प्राप्त भएको छ, त्यसैले त्यति आत्तिहाल्नु पर्दैन ।”

साथै महानिर्देशक भट्टराईले औषधि व्यवसायीको जायज मागको सम्बोधनका विषयमा विभाग गम्भीर रहेकाले यस विषयमा माथिल्लो तहमा छलफल गरेर प्रक्रिया अगाडि बढाउने पनि जानकारी दिनुुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu