सुगमका कर्मचारी हेरफेर गर्छु : मन्त्री मोदी
सनिउल्ला धोबी, कपिलवस्तु- –
नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सुगमका दुर्गम र दुर्गमका सुगममा कर्मचारी हेरफेर हुने बताउनु भएको छ । मन्त्री मोदीले लामो समयसम्म सुगममा कार्यरत रहेका कर्मचारीलाई दुर्गममा खटाइने आन्तरिक गृहकार्य भैरहेको जानकारी दिनुभयो ।
कपिलवस्तुको चन्द्रौटामा आयोजित नेकपा माओवादी केन्द्रद्धारा आयोजिक भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले भन्नुभयो “कर्मचारीले कार्य सम्पादन गरेन्न भने डाइरेक्ट मलाई भन्नुहोस्, नागरिकको काम सहज तरिकाले हुनुपर्छ ।”
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले देशभरीको बरण्डामा बसेका, फाजिलमा बसेका सबै कर्मचारीको नाम लिष्ट तयार गरेको बताउनुभयो । उहाँले भन्नुभयो “२ वर्षदेखि एउटै शाखामा रहेकालाई शाखा परिवर्तन गर्ने । ३ वर्षभन्दा माथि बसेका छन् भने अन्तै पठाउने सिलसिलामा छौं ।”
कर्मचारी समयमा आएको नआएको विषयमा अनुगमन मन्त्रालयबाटै सुरु गरिएको उहाले स्पष्ट पार्नुभयो । दुई महिनाभित्रै संघीय निजामती ऐन संसदमा टेबल गर्ने प्रयास भैइरहेको उहाले बताउनुभयो ।
मन्त्री मोदीले ऐनमा कर्मचारीको हदम्याद ६० वर्ष गर्ने वा नगर्ने भन्ने विषयमा छलफल चलिरहेको बताउनुभयो । स्थानीय प्रशासनमा देखिएको समस्या सुधारको विषयलाई पनि मन्त्रालयले विशेष चासोका साथ अघी बढेको मन्त्री मोदीले बताउनुभयो ।
कर्मचारी सरुवा बढुवाको विषयमा कसैले घुस खुवाएको वा खाएका अवस्था आए कारबाही गर्ने बताउनुभयो । मन्त्री मोदी कपिलवस्तुको तौलिहवा, चन्द्रौटा र गोरुसिगें, विजयनगर र कृष्णनगर अनुगमन गर्नुभएको थियो ।