बैतडीमा जिप दुर्घटना, छ जनाको मृत्यु
बैतडी – बैतडी झौलेक भिरमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। पाँच जना हाम फालेर बाँच्न सफल भएका छन्।
पाटन नगरपालिका-८, झौलेक गाउँ जाने बाटो नजिक भिरबाट दुर्घटना भएको जिप करिब पाँचसय मिटर तल खसेको थियो ।
झुलाघाटबाट बझाङको बागथलातर्फ गइरहेको से १ ज ७६४ नम्बरको जिप मंगलबार राति ११ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर मृत्यु हुनेमा बझाङको केदारस्यु गाउँपालिका -५, का मने बोहरा, गोरख बोहरा, नरे बोहरा, विर्ख धामी , मानबहादुर धामी वीरे धामीको मृत्यु भएको छ। मृतक सबै बझाङका हुन्।जिपको पछाडी सवार ५ जना हाम फालेर बाँच्न सफल छन्।
जिपमा चालक अर्जुन बोहरा सहित १२ जना रहेको बताइएको छ । चालक भने सम्पर्कमा छैनन् । झौलेक मोड काटेर खोलाको ठाडो घुम्तीको उकालोमा जिप अगाडि बढ्न नसकेर पछाडि धकेलिएको बताईएको छ।