Connect with us
Kapilvast Forest

प्रचण्ड र जनार्दनबिच सवाल जवाफ

२०८१, २ भाद्र आईतवारमा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टीका उपमहासचिव जनार्दन शर्माबिच पार्टी विभाजनका विषयमा सवाल जवाफ भएको छ । एउटै कार्यक्रममा उहाँहरूबिच विवाद छरपस्ट भएको हो ।

नेकपा (माओवादी केन्द्र) काठमाडौँ रुकुम पश्चिम सम्पर्क समितिको दोस्रो जिल्ला सम्मेलनको शनिबार उद्घाटन कार्यक्रममा उपमहासचिव शर्माले अध्यक्षबाट प्रचण्डलाई हटाउन खोजेको, पार्टी विभाजन गर्न खोजेकोजस्ता आरोप आफूले खेप्दै आएको भन्दै प्रचण्डप्रति आक्रोश पोख्नुभएको हो ।

उहाँले भन्नुभयो, “अध्यक्ष प्रचण्डले मलाई एमालेसँग एकता गर भन्नुभयो, त्यसपछि म केपी ओलीको मान्छे भएँ । कांग्रेससँग सहकार्य र वार्ता गर भन्नुभयो, त्यसपछि म कांग्रेसको मान्छे भएँ । म माओवादी हुने ठाउँ छ कि छैन ? यो पार्टीमा लागेको ४८ वर्ष भयो माओवादीको कहिले हुन्छु ?” उहाँले आफ्नोबारेमा सत्यतथ्यभन्दा बढी भ्रम सिर्जना गरेर बदनाम गर्ने गरिएको तर्क गर्नुभयो ।

आफू पार्टी विभाजनमा नलागेको स्पष्टीकरण दिँदै उपमहासचिव शर्माले माओवादी केन्द्रलाई थप सशक्त बनाउन एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा, महेन्द्र यादव नेतृत्वको नेपाल समाजवादीलगायतका पार्टीसँग पार्टी एकता गर्ने अभियानमा रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मैले अध्यक्षलाई तपाईं विचार निर्माण र सत्ताको नेतृत्व लिनूस् । सङ्गठनको नेतृत्व अरूलाई जिम्मा दिनूस् भनेको हो । मलाई अध्यक्ष चाहिएको छैन । तपाईंलाई हटाएर अध्यक्ष हुनु छैन । यदि पार्टी बनाउने हो भने यस विषयमा गहन बहस र छलफल हुनु पर्छ ।”

उपमहासचिव शर्माले पार्टीलाई रूपान्तरण गर्ने हुटहुटी र इमानदारीसाथ नेतृत्वको विषयमा सवाल उठाएको बताउनुभयो । उहाँले भन्नुभयो, “जनयुद्धदेखि शान्ति प्रक्रिया र संसद्सम्म अध्यक्ष प्रचण्डलाई सहयोग गर्दै छु । मेरो प्रश्नभित्र कुनै षड्यन्त्र, दरारसयपूर्ण र नेतृत्वको अपमान गरेको छैन ।”

पार्टी उपमहासचिव शर्माको प्रश्नै प्रश्नको सवाल सुनेपछि अध्यक्ष प्रचण्डले आफ्नो र जनार्दनको भेट भएदेखि सँगै भएकाले दुवै जनाको स्वभाव सिङ्गो देशले बुझेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्वभावका कारण मेरो र जनार्दनजीको बेलाबेलामा अगुल्टो ठोसिएझैँ ठोसिने गरेको छ । जनयुद्धकाल, जनयुद्धपछि र अहिले पनि अगुल्टो ठोसिएजस्तो ठोसिनु आगो बाल्नका निम्ति, खान पकाउनका लागि हुँदै आएको छ ।” विवाद र बहसले पार्टीलाई एकताबद्ध गर्न सहयोग पुग्ने भन्दै उहाँले जनार्दनले पार्टी विभाजन गर्न लागेको भन्नेबारे आफूले कहीँ नभनेको जवाफ दिनुभयो । अध्यक्ष प्रचण्डले पार्टी स्थायी समिति बैठकसम्म आउँदा सबै शङ्का मेटिएकाले पार्टी एकताबद्ध हुने विश्वास व्यक्त गर्नुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu