Connect with us
Kapilvast Forest

कपिलवस्तुमा गोरु तस्कर विरुद्ध मुद्धा दायर 

२०८१, २४ कार्तिक शनिबारमा प्रकाशित

छाडा गाईगोरुलाई अवैध तरिकाले संकलन गरेर क्रुर तथा अमानवीय व्यवहार एवम् चरम यातना दिएर झापासम्म पुर्याएको भन्दै उक्त मुद्दा चलाइएको हो ।

 

बाराको निजगढ नगरपालिका ४, का कमल धामीलाई प्रहरीले पशुपंक्षीप्रति निर्दयी व्यवहार गरेको जनाउँदै मुद्दा दर्ता गरेको छ ।

प्रहरी प्रवक्ता डिएसपी मोहनमणि अधिकारीका अनुसार ईलाका प्रहरी कार्यालय गणेशपुरले हिजो बिहान ४ बजे ना.६ ख ३७०८ नम्बरको ट्रकमा यातनापूर्ण अवस्थामा राखिएका २१ वटा गोरुसहित धामीलाई नियन्त्रणमा लिएको थियो ।

‘पशुको नाक र पुच्छर दुबैतर्फ डोरीले बाँधेको र नाकबाट रगत बगिरहेको देखिएपछि उनलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ दफा २९० अन्तर्गत मुद्दा चलाइएको हो,’ प्रहरीको भनाई छ । धामीलाई प्रशासन कार्यालयबाट सात दिनको म्याद थपेर प्रहरी हिरासतमा राखिएको छ ।

प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टका अनुसार पशुपंक्षी यातना तथा अमानवीय व्यवहारविरुद्धको कपिलवस्तुमा यो पहिलो मुद्दा हो ।

‘हामीले पशुपंक्षीलाई यातना दिने, अवैध ओसारपसार गर्ने, निर्दयी व्यवहार गर्नेलाई कानूनी प्रक्रियामा ल्याउन विशेष अभियान नै सञ्चालन गरेका छौं,’ एसपी भट्टले भने ।

गोरु तस्कर पक्राउ परेपनि राजस्व र भन्सारले बुझ्न नमान्ने, भाडाको गाडी छाड्नुपर्ने, गोरुधनी सकार्न नआउनेलगायत समस्याले गोरु तस्करी नियन्त्रणमा आउन नसकेको हो ।

प्रहरीले अवस्था हेरेर मुद्दा प्रक्रियामा लैजान थालेको छ । पक्राउ परेका धामीलाई दोषी पाइए पशुपंक्षीलाई निर्दयी व्यवहारअन्तर्गत तीन महिनासम्म कैद वा पाँच हजार जरिवाना वा दुबै हुने सजाय हुनसक्छ ।

विगत तीन महिना यता कपिलवस्तुमा गोरुको अवैध कारोबार हुँदै आएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu