आज मे दिवस: “मजदुर वर्गमाथि विभेद किन ?”
केयर सिंह अदैं-
जुन वर्गले ८ घण्टा कामको ग्यारेन्टी गरायो, त्यही मजदुर वर्गमाथि विभेद किन ? सन्दर्भः १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस ।
आज मे १, २०२५, १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस हो — त्यो ऐतिहासिक दिन जसमा ‘८ घण्टा काम, ८ घण्टा आराम, ८ घण्टा मनोरञ्जन’ को माग गर्दै मजदुरहरूले निर्णायक आन्दोलनको सुरुवात गरेका थिए ।
सन् १८८६ को यही दिन अमेरिकाको शिकागो शहरमा श्रमिक वर्गले आफ्ना अधिकारका लागि ऐतिहासिक संघर्ष थालेका थिए ।
त्यसअघि श्रमिकहरूमाथि निर्दयी शोषण थियो । १८, २० घण्टासम्म काम लगाउने पूँजीपतिहरूको दमन चक्र चलिरहेको थियो । औद्योगिक क्रान्तिले बेलायतमा सन् १८०२ देखिनै कम्पनीहरूको विकास गरायो, तर मेसिनले मानव श्रम विस्थापित गर्दै लग्यो । हजारौं मजदुर बेरोजगार भए, जीवन संकटमा पर्यो — र संघर्ष सुरु भयो ।
मजदुरहरूले मेसिन तोड्न थाले, नाराजुलुस गर्न थाले । समाजवादी विचार, विशेषतः माक्र्स र एंगेल्सद्वारा सन् १८४८ मा जारी गरिएको कम्युनिस्ट घोषणापत्रले ‘संसारका श्रमिक एक होऔं’ भन्ने नारा दिएका थिए, जसले मजदुर आन्दोलनमा नयाँ ऊर्जा भरेको थियो । त्यसैको जगमा सन् १८६४ मा पहिलो अन्तर्राष्ट्रिय मजदुर संगठन गठन गरियो, जसले मजदुर आन्दोलनलाई संस्थागत दिशा दियो ।
मजदुर आन्दोलन क्रमशः विश्वभर फैलिंदै गयो । सन् १८६७ मा कार्ल माक्र्सको ‘दास क्यापिटल’ को पहिलो भाग प्रकाशित भयो — जसले मजदुर वर्गलाई वैज्ञानिक विश्लेषणको आधारमा प्रशिक्षित गर्यो ।
सन् १८६६ मा ६० मजदुर संगठनहरूको बाल्टिमोर भेलाले ‘८ घण्टा काम’ को माग गर्ने निर्णय गर्यो, र त्यसकै निरन्तरतामा सन् १८८६ को मे १ मा अमेरिकाको शिकागोमा विशाल हडताल भयो ।
तर ३ मे को दिन एउटा बम विस्फोटपछि सुरक्षाकर्मीहरूले मजदुरहरूमाथि गोली चलाए । ५ जना मजदुरले ज्यान गुमाए, ५० भन्दा बढी घाइते भए । त्यसपछि ४ जना मजदुर नेताहरूलाई झुट्टा मुद्दा लगाई मृत्युदण्ड दिइयो । उनीहरूको बलिदानले मजदुर आन्दोलनलाई अन्तर्राष्ट्रिय रूप दियो ।
सन् १८८९ मा पेरिसमा सम्पन्न श्रमिक सम्मेलनले मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवस को रूपमा मनाउने निर्णय गर्यो । अन्ततः, अमेरिका समेत ८ घण्टा कामको नीति लागू गर्न बाध्य भयो ।
तर दुःखको कुरा, आज १३६ वर्षपछि पनि श्रमिक वर्ग विभेदमा छ । खुला बजार, उदारीकरण र ठेक्कापट्टा प्रणालीले श्रमिकहरूको अधिकार कुण्ठित बनाएको छ । श्रम ऐनले सुनिश्चित गरेका — पारिश्रमिक, स्थायित्व, बोनस, आवास, स्वास्थ्य सुविधा, सामाजिक सुरक्षा — मध्ये १० प्रतिशत पनि कार्यान्वयनमा छैनन् ।
उत्पादन गर्ने श्रमिकको रगतबाट हासिल भएका यी अधिकार, आज कुर्सीमा बस्ने, कलम चलाउने वर्गका लागि स्वर्ग जस्ता छन् । तर जसले यी अधिकार दिलायो, त्यो श्रमिक वर्ग आज पनि दुःख र अन्यायको सिकार छ ।
१३६औं श्रमिक दिवसको अवसरमा हामी सबैले यो सम्झन जरुरी छ — मजदुरको सम्मान नगरी समाज प्रगतिशील हुन सक्दैन । पूँजीवादको कठपुतली नबनी श्रमिक वर्गको अधिकारको संरक्षण गर्नु अहिलेको आवश्यकता हो ।
श्रमिक दिवसको शुभकामना !