शिक्षालाई प्रविधिसँग जोडेर अघि बढौं: मन्त्री तिमिल्सिना
सनिउल्ला धोबी-
लुम्बिनी प्रदेश सरकारका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले शिक्षालाई प्रविधिसँग जोडेर अघि बढ्नुपर्ने बताउनुभयो । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालय र स्थानीय विद्यालयका प्रधानाध्यापकबीच अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले भन्नुभयो “अहिलेको युगमा पनि शिक्षालाई प्रविधिसँग जोडिएन भने हामी निकै पछि पर्छौ ।”
मन्त्री तिमिल्सिनाले विद्यालयको अवस्था सुधारका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै विद्यालय सुधारका लागि सबै पक्षको सहकार्य आवश्यक हुने धारणा व्यक्त गर्नुभयो ।
महाराजगन्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले विद्यालयको भौतिक अवस्था सुधार गर्नका लागि सामाजिक विकास मन्त्रालयलाई ध्यान दिनुपर्ने धारणा राख्नुभयो । विद्यालयको भौतिक अवस्था र गुणस्तरीय शिक्षाका लागि नगर सदैव कटिबद्ध रहेको नगरप्रमुख कलामले बताउनु भयो ।
महाराजगन्ज नगरपालिकाका नगरप्रमुख अब्दुल कलामको अध्यक्षता र लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम भएको हो ।
कार्यक्रम मन्त्रालयका सचिवको समेत सहभागिता रहेको थियो । साथै महाराजगञ्ज नगरपालिकाभित्र रहेका सामुदायिक तथा धार्मिक विद्यालयका प्रधानाध्यापकहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी प्रधानाध्यापकहरूले विद्यालयको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार, जनशक्ति अभाव र अन्य समस्या मन्त्री तिमिल्सिनासमक्ष राखेका थिए ।