Connect with us
Kapilvast Forest

स्कुल जाने तयारीमा थिए दिदी–भाइ,तर बाबुले हत्या गरिदिए

२०८२, ५ जेष्ठ आईतवारमा प्रकाशित

चितवन –

गत शुक्रबार बिहान दश बज्नै लागेको थियो । चितवनको भरतपुर महानगरपालिका वडा नं। २५ किसानचोक नजिकैको मदरल्याण्ड बोर्डिङ स्कुलमा बालबालिकाहरु जाने क्रम जारी थियो । त्यही स्कुलमा स्थानीय लिलाराज गिरीकी छोरी प्रभा र उनको दाजु दया गिरीको छोरा सजन पनि पढ्थे ।विद्यालयबाट झण्डै ३५० मिटर टाढा घर भएका ४२ वर्षीय लिलाराजले हरेक दिनजसो छोरी प्रभा र भतिज सजनलाई स्कुटरमा राखेर स्कुल पुर्‍याउँथे । प्रभा र सजन दिदी–भाइ भएकाले खुब मिल्थे ।

शुक्रबारको दिन पनि सजन दिदीसँगै स्कुल जाने भनेर ड्रेस लगाएर काकाको घर आएका थिए । प्रभा स्कुल जानका लागि ड्रेस लगाउँदै थिइन् ।तर त्यो दिन लिलाराजलाई के सनक चढ्यो कुन्नि सात वर्षकी छोरी प्रभा र पाँच वर्षका भतिज सजनलाई खुर्पाले घाँटीमा प्रहार गरे ।स्थानीयका अनुसार सुरुमा लिलाराजले दाजुको छोरा सजनलाई घरको भुईं तलामा खुर्पा प्रहार गरे । बाबुले भाइलाई खुर्पाले आक्रमण गरेपछि प्रभा डरले चिच्चाउँदै रोएकी थिइन् । उनी चिच्चाएपछि लिलाराजले लतार्दै माथिल्लो तलामा लगेर छोरी माथि पनि आक्रमण गरेको स्थानीय बताउँछन् । त्यसपछि आत्महत्या गर्ने प्रयासअनुसार उनले आफ्नो घाँटी पनि त्यही खुर्पाले रेटे ।

देवर लिलाराजको घरमा बच्चा चिच्चाएको सुनेपछि सजनकी आमा दौडिँदै आएकी थिइन् । त्यतिबेलासम्म लिलाराजले ती अवोध छोराछोरीको ज्यान लिइसकेका थिए । लिलाराज र दयाको घरको दूरी एउटा घडेरीले मात्र छुट्याएको छ ।त्यो दिन घरमा लिलाराज र छोरी मात्र थिए । लिलाराजकी श्रीमती बिमला ११ वर्षीय छोरा रेशमलालको उपचारका लागि अघिल्लो दिनदेखि भरतपुरको चितवन मेडिकल कलेजमा थिइन् । रेशमलाई बिहीबार नै अस्पताल भर्ना गरिएको थियो ।

शुक्रबार बिहान लिलाराजका दाजु दया गिरी भाइको छोरा रेशमलाई भेट्न अस्पताल आएर फर्किंदै थिए । उनले आफू अस्पतालबाट फर्किन ढिला हुनसक्ने भएकाले भाइ लिलाराजलाई छोरा सजनलाई पनि विद्यालय पुर्‍याइदिन भनेका थिए । दया घर पुग्दा भाइले छोरा सजनको हत्या गरिसकेका थिए । छोरी र आफू गम्भीर घाइते अवस्थामा थिए ।

दयाले आफ्नो एकमात्र छोरा सजन, भाइ लिलाराज र भाइकी छोरी प्रभालाई चितवन मेडिकल कलेजमा लगे । अस्पताल पुर्‍याउँदा सजनको मृत्यु भैसकेको थियो भने छोरी प्रभालाई पनि केहीबेरमै चिकित्सकले मृत घोषणा गरे । घाँटीमा गम्भीर चोट लागेर घाइते भएका लिलाराज भने अस्पतालमै उपचाररत छन् ।

चितवन प्रहरीले यो घटनाको अनुसन्धान जारी राखेको छ । चितवन प्रहरी प्रवक्ता डीएसपी रविन्द्र खनालका अनुसार लिलाराज नेपाली सेनाका निवृत्त जमदार हुन् । उनले केही वर्षदेखि डिप्रेसनको औषधि खाइरहेको खुल्न आएको छ ।‘चितवन मेडिकल कलेजमा ल्याइपुर्‍याउँदा लिलाराज बोल्न नसक्ने अवस्थामा थिए तर होसमै थिए,’ चितवन प्रहरी स्रोतले भन्यो, ‘उनले प्रहरीकै अगाडि आफू नेपाली सेनाको कर्तव्यनिष्ठ पूर्वजमदार भएको लेखेका थिए ।’

शोकमा विद्यालय बन्द

घर नजिकै रहेको मदरल्याण्ड विद्यालयमा दयाका छोरा सजन एलकेजीमा पढ्थे । उनले नर्सरी पनि त्यही विद्यालयमा पढेका थिए । लिलाराजकी छोरी प्रभा कक्षा एकमा पढ्थिन् । प्रभाका दाजु ११ वर्षका रेशमलाल भने कक्षा ४ मा पढ्छन् ।विद्यालयका प्रिन्सिपल नवराज भट्टले विद्यालय नजिकै भएको त्रासदीपूर्ण घटनाले स्तब्ध भएको बताए । प्रिन्सिपल भट्टले  भने, ‘एउटा बाबुले आफ्ना अवोध सन्तानमाथि यस्तो कसरी गर्न सक्छ रु म त केही सोच्न सकेको छैन ।’

विद्यालयमा प्रार्थना सकेपछि आफूले घटनाबारे थाहा पाएको उनले बताए । विद्यालय नजिकै भएकाले दौडिएर गएर हेर्दा आफ्नै स्कुलका बालबालिकालाई रगतको आहालमा देख्दा अति नै कष्ट भएको प्रिन्सिपल भट्ट बताउँछन् । ‘विद्यालयका शिक्षकरशिक्षिकाहरू सबै जना रोइरहनुभएको छ, आफूले पढाएका, काखमा खेलाएका बच्चाको हत्या भएको सुन्दा कस्तो भएको होला रु’ प्रिन्सिपल भट्ट भन्छन् ‘हिजोसम्म स्कुलमा नाचेका, खेलेका बच्चाहरु आज छैनन् भन्दा सम्हालिन सक्ने अवस्था रहेन । विद्यालयका बालबालिका, अभिभावक र शिक्षकहरु सबैलाई यसले ठूलो आघात पारेको छ ।’

उनले हत्या गरिएका दुई विद्यार्थीहरूको शोकमा आइतबार विद्यालय बन्द गरिएको जानकारी दिए । दया र लिला दुई दाजुभाइबीच झैझगडा वा मनमुटाव आफूले थाहा नपाएको प्रिन्सिपल भट्टले बताए । बिरामी भएर अस्पताल भर्ना भएका लिलाको छोरा रेशमलाई भेट्न दाजु दया जानु र भाइलाई आफ्नो छोरा सजनलाई पनि विद्यालय पुर्‍याइदिन भन्नुले पनि उनीहरूको सम्बन्ध ठिकै रहेको बुझिने प्रिन्सिपल भट्टको भनाइ छ । ‘केही भए पनि साना अवोध छोराछोरी माथि रिस पोख्ने कुरा सोच्न पनि सकिँदैन,’ भट्ट भन्छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu