Connect with us
Kapilvast Forest

कपिलवस्तु शिवराजका अभिभावक आक्रोशित, गर्मी विदा दिन माग

२०८२, २९ जेष्ठ बुधबारमा प्रकाशित

न्युजसेन्टर नेपाल कपिलवस्तु– अत्याधिक गर्मीले जनजीवन आक्रान्त बनिरहेको बेला कपिलवस्तुको शिवराज नगरपालिकाले सामुदायिक विद्यालयलाई गर्मी विदा नदिएपछि अभिभावकहरू आक्रोशित बनेका छन् ।

दिउसोको समयमा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम पुग्दा समेत नगरपालिका प्रशासनले विद्यार्थीको स्वास्थ्य र सुरक्षालाई बेवास्ता गर्दै विद्यालयहरूमा अनिवार्य कक्षा सञ्चालन गरिरहेको छ । पालिकाले बिदा नदिदा अभिभावकहरूले चर्को आलोचना गरेका छन् ।

शिवराजका ५० भन्दा सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाहरू बिहानैदेखि तातो घाम र उमसपूर्ण वातावरणमा कक्षा लिन बाध्य छन् । स्वास्थ्य विशेषज्ञहरूका अनुसार यस्तो गर्मीमा बालबालिकालाई लामो समयसम्म खुला वा असुरक्षित कक्षामा राख्नु खतरनाक हुन सक्छ । तर, नगरपालिकाले गर्मी विदा नदिई सिर्फ “बिहानी कक्षा” सञ्चालनको नाममा आफ्नो जिम्मेवारी पन्छ्याउने काम गरेको छ ।

यता, कपिलवस्तु जिल्लाकै अन्य पालिकाहरू – बाणगंगा, बुद्धभूमि, कपिलवस्तु नगरपालिका, यशोधरा र सुद्दोधन गाउँपालिकाले जेठ ३० गतेसम्म सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेर बालबालिकाको स्वास्थ्यप्रति संवेदनशीलता देखाएका छन् ।

शिवराज नगरपालिकाको अडानप्रति आक्रोशित अभिभावक सीता चौधरी भन्छिन्, “गर्मीमा सास फेर्न गाह्रो भइरहेको बेला बच्चाहरूलाई कक्षामा थुन्ने यो कस्तो नीति हो ? नगर प्रमुख र शिक्षा शाखा किन मौन छन् ?”

शिवराजको वडा नम्बर ७ का अर्का अभिभावक रमेश यादव थप्छन्, “अरू पालिकाले विदा दिँदा हामीकहाँ किन बालबालिका दोहोरो मारमा पारिएका छन् ? यो सरासर अन्याय हो ।”

शिक्षा अधिकारीहरूसँग पटक–पटक सम्पर्क गर्दा पनि उनीहरूले “उच्च निर्णय” भन्दै पन्छिने प्रयास गरेको अभिभावकहरूको गुनासो छ ।

नगरपालिकाको यस निर्णयले विद्यार्थी मात्र होइन, शिक्षकहरू समेत असन्तुष्ट छन् । विद्यालयमा पढाउने एक शिक्षकले नाम नखुलाउने शर्तमा भने, “घामको झोकामा हाम्रा विद्यार्थी बेहोस हुन्छन्, हामी निरीह बनेर हेर्नुबाहेक के गर्न सक्छौं ?”

शिवराज नगरपालिकाको निर्णय पुनर्विचार गरि बालबालिकाको हितमा तत्काल गर्मी विदा घोषणा गर्नुपर्ने स्थानीयहरूको जोडदार माग छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu