मदिरा तस्करी मुठभेड : छानबिन समिति बन्ने, इन्स्पेक्टरलाई जिम्मेवारीबाट हटाइने
काठमाडौं –
सप्तरीमा मदिरा नियन्त्रणका लागि भन्दै प्रहरीले चलाएको गोली लागेर एक युवाले ज्यान गुमाएको घटनामा छानबिन गर्न समिति बन्ने भएको छ ।मृतक सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरका ३५ वर्षीय लालु यादवको परिवार र प्रशासनबीच आज बिहीबार सहमति भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी उमा चतुर्वेदीले घटनाको छानबिन गर्न तयार रहेको बताइएपछि सहमती भएको बताए ।उनका अनुसार घटनाबारे छानबिन गर्न समिति बनाउने सहमति भएको छ । अहिले समिति भने बनिसकेको छैन । त्यसपछि घटनामा खटिएका इन्स्पेक्टर वीरेन्द्रकुमार यादवलाई उक्त ठाउँको जिम्मेवारीबाट हटाउने पनि सहमति भएको छ ।
यो सहमति भएपछि आफन्त शव बुझ्न तयार भएका छन् । पोष्टमार्टम सकाएर आफन्तले शव बुझ्ने बताइएको छ । बुधबार दिनभर मृतकका आफन्तहरुले विभिन्न माग राख्दै राजविराजमा प्रदर्शन समेत गरेका थिए ।नेपाल–भारत सीमा क्षेत्र सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरबाट भारततर्फ मदिरा तस्करी हुन लागेको सूचना पाएपछि मंगलबार राति प्रहरी पुगेको थियो । सो क्रममा झडप समेत भएको बताइएको छ । प्रहरीले चलाएको गोली लागेर लालुको ज्यान गएको थियो ।प्रहरीले अनावश्यक रुपमा गोली चलाएकाले मृतकका पक्षले आरोप लगाउँदै आएका छन् । यता प्रहरीले भने आत्मरक्षाका लागि गोली चलाउनु परेको दाबी गरेको थियो ।