मिस होस्टल नेपाल–२०२५ को ताज यहाना श्रेष्ठले जितिन्
काठमाडौँ । मिस होस्टल नेपाल–२०२५ को उपाधी यहाना श्रेष्ठले प्राप्त गर्नुभएको छ ।
काराओके इन्टरटेन्मेन्ट प्रालिले होस्टल व्यवसायी सङ्घको सहकार्यमा साउन २५ देखि आजसम्म सञ्चालन गरेको उक्त प्रतियोगितामा प्लाटिनम गल्र्स होस्टल डिल्लीबजारकी छात्रा यहाना श्रेष्ठ प्रथम हुनुभएको छ । यसैगरी, दोस्रोमा सेन्ट्रल गल्र्स होल्टल पुतलीसडककी छात्रा बन्दना खरेल र तेस्रोमा श्रीया गल्र्स होस्टल बुद्धनगरकी छात्रा स्वर्णीमा सापकोटा हुनुभएको छ ।
प्रथम, द्धितीय र तृतीय हुने छात्राहरुलाई क्रमशः रु एक लाख, ५० हजार र २५ हजार नगदसहित ताज, गिफ्ट ह्याम्पर र होस्टलबाट छात्रावृत्तिसमेत प्रदान गरिएको छ । प्रथम हुने श्रेष्ठलाई एभरेष्ट अस्पताल नयाँबानेश्वरले सद्भावना दूत नियुक्त गरेको छ ।
यस्तै, मिस कोशी सुहाना मादेन लिम्बु, मिस मधेस खुस्बु खातुन, मिस बागमती रश्मीता शाक्य, मिस गण्डकी सुजाता बस्नेत, मिस लुम्बिनी स्वर्णीमा सापकोटा, मिस कर्णाली कविताकुमारी भण्डारी र मिस सुदूरपश्चिको उपाधी बन्दना खरेलले प्राप्त गर्नुभएको छ ।
यसैगरी, अस्मिता महराले मिस कन्फिडेन्ट, याहान श्रेष्ठले मिस डिसिप्लिन, युनिशा थापाले मिस फोटोजेनिक, ऋतु बुढाथोकीलले मिस काइन्डहर्ट र सरीता शाहले मिस फेन्डसिपको उपाधी प्राप्त गर्नुभएको कार्यक्रमको संयोजक रत्निता शाक्यले जानकारी दिनुभयो ।
उक्त उपाधी नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक एवम् प्रतिनिधीसभा सदस्य धुब्रबहादुर प्रधानले प्रदान गर्नुभयो । होस्टल व्यवसायी संघको अध्यक्ष सुनिल भेटवालले यस्तो कार्यक्रमले होस्टेलमा बसेर अध्ययन गरिरहेका विद्यार्थीलाई हौसला प्रदान गरेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
होस्टलमा पढिरहेका विद्यार्थीहरुको उच्च शिक्षाको लागि तथा लुकेको प्रतिभा प्रष्फुटन गराउने उदेश्यले पहिलोपटक उक्त प्रतियोगिता आयोजना गरेको काराओके इन्टरटेन्मेन्टको प्रमुख खगेश रञ्जितले जानकारी दिनुभयो । उक्त संस्थाले यसअघि मिस नेवाः आइकन, मिस नेवाः वल्र्ड, मिस नेशनललगायतका प्रतियोगिता गरिसकेको छ ।
नेपाल प्रहरीका पूर्व वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक रञ्जितको अध्यक्षतामा आयोजित उक्त प्रतियोगिताको निर्णायकमा हेमा मानन्धर, दिपक घिमिरे, कृषा महर्जन, रोजिका बज्राचार्य, दिल कुमार महर्जन, निलिमा नकर्मी र सवि स्थापित हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन सकिना महर्जनले गर्नुभएको थियो ।