जेनजी प्रदर्शनमा ७२ वर्षीय वृद्ध : यो पुस्ताले चाहिँ साँच्चै परिवर्तन ल्याओस्
काठमाडौं –
सामाजिक सञ्जाल बन्दविरुद्ध ‘जेनजी’ ले आह्वान गरेको आन्दोलनमा युवाहरु मात्र होइन । विभिन्न उमेर समूहका व्यक्ति सहभागी छन् । त्यस्तै मध्येका एक हुन्( सुर्खेत लाटीकोइलीका ७२ वर्षीय नारायणप्रसाद शर्मा ।उनी आफूलाई मन लागेको कुरा युट्युबमा हेर्थे । उनको सूचना लिने र दिन कटनीको साधन युट्युब थियो । अहिले बन्द भएपछि उनी छटपटिएका छन् । उनको छटपटी र गुम्सिएको आक्रोश रिलिज गर्ने थलो जेनजीले सोमबारदेखि थालेको आन्दोलन भएको छ । विरोध प्रदर्शन हुने भएपछि उनी आफ्नो छोरासँग मोटरसाइकल चढेर माइतीघर आए । उनी माइतीघरको एउटा कुनामा बसेर आफ्नो शान्त विरोध जनाइरहेका छन् ।
‘समाचार हेर्थें । युट्युव हेर्थें । अहिले केही चल्दैन । कस्तो रिस उठ्यो । दिनभए मेरो काम हुँदैन । अनि समर्थन गर्न आन्दोलनमा आएको हुँ,’ उनले भने,’सरकारले साह्रै दुस्ख दिए । नेताले सबै बेचे । अब त चिहान र घाट पनि बाँकी नराख्लान् जस्तो भो ।’उनको अनुहार चाउरी परेको छ । ठाडो टीका लगाएका छन् । गेरु गम्छा काँधमा हालेका छन् । हेर्दा धार्मिक आस्थावान् देखिने शर्माले युवाहरूलाई आषिश दिए( ‘भगवान् यो जमातलाई रक्षा गर । यो पुस्ताले चाहिँ साँच्चै परिवर्तन ल्याओस् ।’