Connect with us
Kapilvast Forest

एकताको अर्थ अरूलाई समाप्त गर्नु होइन : कुलमान घिसिङ

२०८२, १२ पुष शनिबारमा प्रकाशित

काठमाडौं –

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नभएकाे बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडाैं महागनर प्रमुख बालेन साहकाे देश विकास पार्टी र कुलमानकाे उज्यालाे नेपाल पार्टीबीच एकताकाे प्रयास भइराख्दा उनले त्यस्ताे बताएका हुन्।

शनिबार उज्यालो नेपाल पार्टी नुवाकोट–काठमाडौं सम्पर्क मञ्चद्वारा बौद्धमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले नयाँ शक्तिहरूले सबैको अस्तित्व स्वीकार गर्दै सम्मानका साथ एकताबद्ध हुनुपर्ने बताए। “एकताको अर्थ अरूलाई समाप्त गर्नु होइन”, उनले भने, “सबैको अस्तित्व स्वीकार गर्दै, सबैलाई सम्मान हुने गरी अघि बढ्नु नै साँचो एकता हो।”
जनताको भावना र चाहना नयाँ शक्तिहरू एक होऊन् भन्ने भएकाले नयाँ शक्तिहरूले अहंकार त्यागेर साझा उद्देश्यका लागि एकताबद्ध हुनुपर्नेमा घिसिङले जाेड दिए। उनले उज्यालो नेपाल पार्टीको पहिचान जनजीवनसँग जोडिएको बताउँदै घरमा बत्ती बाल्ने बित्तिकै ‘उज्यालो’ को अनुभूति हुने भएकाले त्यसैलाई पार्टीको सन्देशका रूपमा गाउँ–गाउँसम्म पुर्‍याउन कार्यकर्ताहरूलाई निर्देशन पनि दिए। घरमा बत्ती बल्यो भने उज्यालो हुन्छ, त्यही उज्यालोबाट उज्यालो नेपाल चिनिनुपर्छ”, उनले भने।
मन्त्री घिसिङले जनतामाझ उज्यालो पार्टीप्रति विश्वास बढ्दै गएको उल्लेख जिकिर पनि गरे। “हामीसँग आम जनताको विश्वास छ”, उनले भने, “यो विश्वासलाई अझ बलियो बनाउँदै निर्धक्क भएर अघि बढ्नुपर्छ।”