Connect with us
Kapilvast Forest

प्रधानमन्त्री कार्कीका श्रीमान् अस्वस्थ, अस्पताल भर्ना

२०८२, २० पुष आईतवारमा प्रकाशित

काठमाडौं –

प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा प्रसाद सुवेदी स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् ।अस्पताल स्रोतका अनुसार, सुवेदीको स्वास्थ्यमा विभिन्न समस्या देखिएका छन् ।उपचारमा संलग्न एक चिकित्सकका अनुसार, उनमा पिसाबको संक्रमण, शरीरमा नुनको मात्रा कम, रिंगटा लाग्ने लगायतका समस्या उनमा देखिएको हो । ती चिकित्सकले अन्य थप समस्या भने खुलाउन चाहेनन् ।

यसअघि उनले प्रोस्टेटको शल्यक्रिया गराएका थिए । अहिले संक्रमणका कारण रिंगटा लाग्ने लगायतका समस्या देखिएपछि बिहीबार अस्पताल भर्ना भएका हुन् ।अहिले उनको क्याबिनमा राखेर उपचार भइरहेको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार, उनको उपचारबारे चिकित्सकहरूसँग थप परामर्श भइरहेको छ ।‘उहाँ यसअघि पनि बेला बेलामा बिरामी भइरहनुहुन्थ्यो । अस्पताल जाने आउने चलिरहेको हो । पछिल्लो समस्याबारे चिकित्सकसँग सल्लाह भइरहेको छ,’ स्रोतले भन्यो ।

किन हुन्छ पिसाबमा संक्रमण?

मिर्गौला, पिसाबको थैली, पिसाब नली वा पिसाब बाहिर निस्कने बाटोको जुनसुकै भागमा किटाणुको संक्रमण भएमा त्यसलाई पिसाब नलीको संक्रमण (युरिनरी र्ट्याक्ट इन्फेक्सन वा यूटीआई) भनिन्छ ।चिकित्सकहरूका अनुसार यो संक्रमण सरसफाईको कमी वा शरीरको अन्य भागबाट रगतको माध्यमद्वारा किटाणु पिसाब नलीमा पुग्दा हुने गर्छ ।

पिसाबको बाटोमा कुनै अवरोध भएमा वा पिसाब राम्ररी बाहिर ननिस्केमा पनि संक्रमणको जोखिम बढ्छ ।पुरुषहरूमा प्रोस्टेट ग्रन्थी बढ्ने, पिसाब नली साँघुरो हुने वा पिसाब थैलीबाट पिसाब माथि फर्किने स्थितिले संक्रमणको जोखिम झनै बढाउँछ । विशेष गरी वृद्ध पुरुषहरूमा प्रोस्टेटको समस्याले पिसाब नली साँघुरो हुँदै जाने भएकाले यो संक्रमण बारम्बार देखिने चिकित्सकहरू बताउँछन् ।

मुख्य लक्षणहरू :

बारम्बार पिसाब लाग्ने

पिसाब गर्दा पोल्ने वा दुख्ने

पिसाबबाट कडा गन्ध आउने

पिसाब धमिलो देखिने

तल्लो पेट दुख्ने

कहिले बन्छ जटिल :

चिकित्सकहरूका अनुसार सामान्य यूटीआई समयमै उपचार नगरेमा जटिल बन्न सक्छ । मिर्गौलासम्म संक्रमण पुग्ने ‘अपर यूटीआई’ अवस्थामा मिर्गौलामा स्थायी क्षति हुन सक्छ । सबैभन्दा खतरनाक अवस्था भनेको ‘युरोसेप्सिस’ हो । पिसाबको संक्रमण रगतमा फैलिएर यो अवस्था सिर्जना हुन्छ ।युरोसेप्सिस भएमा मुटु, कलेजो, फोक्सो लगायत महत्वपूर्ण अंगमा गम्भीर क्षति पुग्न सक्छ र बिरामीको ज्यानै जान सक्ने जोखिम अत्यधिक हुन्छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu