Connect with us
Kapilvast Forest

ओलीको रवि–बालेनलक्षित टिप्पणी : उन्माद र नसामा देश बन्दैन

२०८२, २४ पुष बिहीबारमा प्रकाशित

एमाले अध्यक्ष केपी ओलीले रास्वपा सभापति रवि लामिछाने र नेता बालेन्द्र शाहप्रति लक्षित गर्दै उन्माद र नसामा देश बन्न नसक्ने बताएका छन् । साथै उनले अहिलेको सरकारमा प्रतिशोधी र पूर्वाग्रही मानसिकताका साथै हैसियत नभएका व्यक्तिहरू मन्त्री भएकोसमेत बताएका छन् ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा ओलीले एमाले र कांग्रेसले जित्ने अवस्थामा चुनाव नै नगराइने प्रचार भएको दाबी गरे । ‘एमाले–कांग्रेसले जित्ने भए चुनावै नगराउने अरे, अनि फलानाले जित्ने भए मात्रै गराउने अरे । ती फलाना–फलानाले आउँदो २० वर्ष चुनाव जित्नेवाला छैनन् । भोँपु बजाउनु बेग्लै कुरा हो । के अब २० वर्ष चुनाव नै नगराउने ?’ ओलीले भने, ‘चुनाव गराए एमालेले जित्छ, अनि के गर्ने ? यो नभन्ने ? के भन्नुपर्छ ? उहाँहरूले जित्नुभयो, प्रधानमन्त्रीले यस्ता–यस्ता महान् काम गर्नुभयो, देश बनाइदिनुभयो भन्नुपर्ने ?’

जथाभावी भत्काउने काम मात्रै गर्ने व्यक्तिले देश निर्माण गर्न नसक्ने र देश बनाउन दिमाग ठिक ढंगले चल्नुपर्नेसमेत बताए । ‘सरकारको के काम देखाएर प्रशंसा गर्ने ? हेटौँडामा घर भत्काउनुपर्ने काम थियो अहिले ? आधा घर भत्कायो, आधा बाँकी छ । अब के गर्ने ? अनि देश बनाएको छ भन्नुपर्ने ? बनाउनेको त दिमाग ठिक ठाउँमा हुनुपर्छ । उन्मादमा, नसामा देश बन्दैन ।’

यस्तै, कार्यक्रममा ओलीले वर्तमान मन्त्रिपरिषद्बारे टिप्पणी गरे, ‘अहिलेको मन्त्रिपरिषद् हेर्नुपर्छ, यहाँ जेन–जी नामका पूर्वाग्रही र प्रतिशोधी मानसिकताका कुनै हैसियत नभएका तत्वहरू छन् । अरू धेरै केही भन्नु छैन । अनाडी, सडकछाप कहाँबाट जेन–जी प्रतिनिधि भए थाहा छैन । देश चलाउने जिम्मा त्यस्ताको हातमा कसले दिन्छ ? उनीहरूमा लोकतन्त्रप्रतिको चेत नै देखिँदैन ।’

सामाजिक सञ्जालमा गाली गर्ने र नकारात्मकता फैलाउने व्यक्तिलाई देश चलाउनुपर्छ भन्ने धारणा मूलधारका सञ्चारमाध्यम र बौद्धिक वृत्तले समेत भावनामा बगेर समर्थन गरिरहेको देख्दा आश्चर्य लाग्ने ओलीको भनाइ छ । ‘सामाजिक सञ्जालमार्फत प्रोजेक्ट गरिएका मानिस हेर्दा अचम्म लाग्छ । योभन्दा दुर्गति देशको के हुन्छ ? देश र भविष्यसँग यस्तो मजाक गरिन्छ ? यहाँ भइरहेको छ,’ ओलीले भने, ‘सञ्चारमाध्यम र बौद्धिक जगत् अझ सजग हुनुपर्ने हो, तर सेन्टिमेन्टमा बगेको देखिन्छ । भावनामा बगेर देश बन्दैन । यथार्थ स्विकारेर यथार्थ कदम चाल्नुपर्छ ।’

२३ र २४ भदौको विध्वंस लामो समयदेखिको पूर्वनियोजित तयारीको परिणाम भएको ओलीको दाबी छ । ‘ती घटना तात्कालिक परिस्थितिको उपज होइनन्, ८–१० वर्षदेखिको तयारी हो । देश जलाउनेहरू देशद्रोही, अपराधी हुन्, आन्दोलनकारी होइनन् । मैले जेन–जीलाई भनेको होइन । जेन–जीले देश जलाएको होइन, आपराधिक तत्वहरूको घुसपैठ थियो,’ उनले भने, ‘योजनाबद्ध रूपमा काम भयो । बेहोस पारिएका, बहकाइएका, आत्मा किनिएका र बेचिएका व्यक्तिहरूले देश जलाए । यस्तो देशद्रोही काम नेपाली मति, बुद्धि र आचरण होइन ।’

ओलीले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी मनोनयनले लोकतान्त्रिक अभ्यास जीवित रहेको सन्देश दिएको पनि बताए । ‘राष्ट्रिय सभा निर्वाचनको मनोनयन भएको छ । यो लोकतान्त्रिक अभ्यासको नियमित प्रक्रिया हो । अझै पनि लोकतन्त्र बाँकी छ, चुनावको कुरा भइरहेको छ भन्ने यसले देखाउँछ । राष्ट्रिय सभाको आवश्यकता अझै छ,’ ओलीले भने ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu