Connect with us
Kapilvast Forest

राजीनामा माग गरिएका मन्त्री गुप्तालाई सरकारले नै दियो अमेरिका जाने अनुमति

२०८२, २४ पुष बिहीबारमा प्रकाशित

काठमाडौं –
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको सहयोगीका रूपमा राजनीतिमा उदाएका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका उड्ने भएका छन्।
गत पुस २१ गते बसेको मन्त्रिपरिषदको बैठकले गुप्तालाई अमेरिका जान अनुमति दिएको छ। उनी आगामी माघ ३ गते अमेरिकामा आयोजना हुने  ‘जेनजी’ क्रान्तिपछिको नेपालको विकासमा एनआरएनए युवाको भूमिका’ सम्बन्धी कार्यक्रममा सहभागी हुन उनलाई स्वीकृति प्रदान गरेको हो।

सरकारका केही मन्त्री राजनीतिक गतिविधिमा संलग्न रहेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीले उनीहरूलाई ‘राजीनामा दिन’ भनेकी थिइन्। तर, राजनीतिमा सक्रिय भएर लागेका खेलकुलमन्त्री गुप्तालाई प्रधानमन्त्री कार्कीकै अध्यक्षतामा बसेको बैठकले ‘अमेरिका घुम्न’ अनुमति दिएको हो।
यद्यपि मन्त्री गुप्ताको सचिवालयले भने अझै जाने नजानेबारे टुंगो भइनसकेको बताएको छ। सचिवालयले भिसाका लागि मन्त्रीले अझै आवेदन नदिएको दाबी गरेको छ।
उनी बालेनको कोटाबाट मन्त्री बनेका हुन्। बालेनको समूह रास्वपामा समाहित भएपछि उनले सक्रिय राजनीति गर्दै आएका छन्।मन्त्री गुप्ता बालेन र रवि लामिछानेलाई मिलाउने भूमिकामा सक्रिय बनेका थिए भने कुलमान घिसिङको उज्यालो नेपाललाई पनि रास्वपामा विलिन गराउने भूमिकामा पनि थिए।

जेनजी आन्दोलनपछि बनेको निर्दलीय सरकारमा राजनीतिक व्यक्ति सरकारमा सहभागी भएको भन्दै युवा असन्तुष्ट छन्। रास्वपाको उपसभापति पाउने गरी रास्वपामा समाहित भएका उज्यालो नेपालका संरक्षक घिसिङले भने गएराति राजीनामा दिएका छन्।कुलमानको राजीनामापछि मन्त्री गुप्तासहित सरकारका प्रवक्ता जगदीश खरेलमाथि पनि राजीनामाको दबाब बढेको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu