Connect with us
Kapilvast Forest

गगनलाई शंकरको जवाफ : दास होइनौं, स्पार्टाकस हौं

२०८२, २८ पुष सोमबारमा प्रकाशित

 काठमाडौं-

नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश जलिरहेका बेला उत्सव मनाउन नसक्नेहरू कसैका लागि ‘दास’ जस्ता लागे पनि ती तथाकथित दासहरू नै आजको समयका स्पार्टाकस पनि हुन सक्ने बताएका छन् ।आइतबार विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेप्रति इंगित गर्दै कांग्रेस लास र दासहरूको पार्टी नभएको बताएका थिए । उनले भनेका थिए, ‘कांग्रेस दास र लासहरूको पार्टी होइन । कांग्रेस ज्युँदो मानिसहरूको पार्टी हो । यहाँ प्रश्न मरेको छैन ।’

गगन थापाको यही भनाइको जवाफ सामाजिक सञ्जाल फेसबुकमार्फत फर्काउँदै नेता पोखरेलले लेखेका छन्, ‘हो, देश जलिरहेका बेला उत्सव मनाउन नसक्नेहरू कसैका लागि ‘दास’ जस्ता लाग्न सक्छन् । तर ती तथाकथित दासहरू नै आजको समयका स्पार्टाकस पनि हुन सक्छन् । ती स्पार्टाकस—जसले स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानको झण्डा बोकेर आधुनिक विश्वव्यवस्थाको नयाँ आधारशीला निर्माण गर्नेछन् ।’

विध्वंस, अराजकता र आतंकका सामु झुक्नु कायरता भएको भन्दै उनले त्यसका विरुद्ध उभिएर जनताको मनोबल उठाउनु साहस भएको बताए ।संविधान, लोकतन्त्र र राष्ट्रको भविष्य नै संकटमा परेको बेला, जन–जनको हृदय जलिरहेको घडीमा उत्सव कसरी मनाउन सकिन्छ र भनेर उनले प्रश्न गरेका छन् ।उनले भनेका छन्, ‘भूराजनीतिक स्वार्थका सामु लम्पसार पर्नु दासता हो; त्यसका विरुद्ध आवाज उठाउनु स्वाभिमान हो ।’

को हुन् स्पार्टाकस ?

खासगरी, वामपन्थी राजनीति र साहित्यमा ‘स्पार्टाकस’ पात्रलाई एक शक्तिशाली प्रतीक र प्रेरणाको स्रोतका रूपमा प्रस्तुत गरिन्छ । उनी विद्रोहीहरूका आदर्श पात्र हुन् ।स्पार्टाकस प्राचीन रोमन साम्राज्यका एक ‘ग्ल्याडिएटर’ अर्थात् दास योद्धा थिए। उनले सन् ईसापूर्व ७३ मा रोमन शासनको अत्याचार विरुद्ध दासहरूको विशाल विद्रोहको नेतृत्व गरेका थिए। यद्यपि पछि उनको विद्रोह दमन गरियो, तर उनले शक्तिशाली साम्राज्यको जग हल्लाइदिएका थिए।

कार्ल मार्क्सले स्पार्टाकसलाई सम्पूर्ण प्राचीन इतिहासको सबैभन्दा उत्कृष्ट पात्र र वास्तविक सर्वहारा वर्गको प्रतिनिधिको संज्ञा दिएका छन् ।कम्युनिस्टहरूले स्पार्टाकसलाई इतिहासको पहिलो वर्ग संघर्षको नायकका साथै व्यक्तिगत फाइदाका लागि नभई दासताको साङ्लो चुँडालेर स्वतन्त्रता प्राप्तिका लागि लड्ने योद्धा मान्छन् ।यही पृष्ठभूमिमा प्रथम विश्वयुद्धताका रोजा लक्जेम्बर्ग र कार्ल लिब्कनेख्तले जर्मनीमा एउटा क्रान्तिकारी संगठन बनाएर त्यसको नाम नै ‘स्पार्टाकस लिग’ राखेका थिए । उनीहरूले स्पार्टाकसको विद्रोहलाई आधार मानेर जर्मन सरकार विरुद्ध विद्रोहको प्रयास गरेका थिए। पछि यही समूह जर्मन कम्युनिष्ट पार्टीमा परिणत भयो।

वामपन्थी लेखकहरूले स्पार्टाकसको जीवनमा आधारित थुप्रै उपन्यास र नाटकहरू लेखेका छन्। हावर्ड फास्टले ‘स्पार्टाकस’ नामको उपन्यास नै लेखेका छन् ।यसरी स्पार्टाकस हार्न तयार तर, झुक्दै नझुक्ने पात्र हुन् । वामपन्थीहरूले उनलाई अन्यायपूर्ण व्यवस्था विरुद्धको ‘अन्तिम लडाइँ’ का प्रतीक मान्छन् ।एमाले महासचिव पोखरेलले कांग्रेस महामन्त्री थापालाई जवाफ दिँदै आफूहरूलाई ‘स्पार्टाकस’ संज्ञा दिएका हुन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu