निर्वाचन प्रहरीमा देखिएन अपेक्षित आकर्षण : मागअनुसार दरखास्त नपरेपछि विभिन्न जिल्लामा म्याद थप
निर्वाचनका लागि भर्ना गरिने निर्वाचन प्रहरीमा सर्वसाधारणको आकर्षण अपेक्षाकृत कम देखिएको छ । मागभन्दा कम दरखास्त परेपछि विभिन्न जिल्लामा आवेदन दिने म्याद दुई दिन थप गरिएको छ ।एक लाख ४९ हजार ९० पदका लागि निर्वाचन प्रहरी माग गरिए पनि बिहीबारसम्म करिब दुई लाख आवेदन मात्रै परेको नेपाल प्रहरीले जनाएको छ । दरखास्त संख्या न्यून भएपछि धेरै जिल्लाले आवेदनको म्याद थप गरेका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार बिहीबार दरखास्त दिने अन्तिम दिन तोकिएको थियो । युवापुस्ताको ठुलो हिस्सा वैदेशिक रोजगारीमा जानु तथा निर्वाचन प्रहरीका सुविधा आकर्षक नहुनुका कारण अपेक्षाकृत आवेदन नपरेको हुन सक्ने प्रहरी अधिकारीहरूको विश्लेषण छ ।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई सहयोग गर्न ४० दिनका लागि निर्वाचन प्रहरी भर्ना गर्न लागिएको हो । नेपाल प्रहरीतर्फ एक लाख ३३ हजार ९९० र सशस्त्र प्रहरी बलतर्फ १५ हजार ११० कोटा छुट्याइएको छ । दुवै निकायको भर्ना प्रक्रिया सँगसँगै अघि बढाइएको छ ।
नेपाल प्रहरीका सहायक प्रवक्ता एसएसपी गोपालचन्द्र भट्टराईका अनुसार बुधबार बेलुकासम्म एक लाख ६० हजार २३९ जनाले आवेदन दिएका थिए । ‘बिहीबारसम्म यो संख्या करिब दुई लाख पुग्ने अनुमान छ,’ उनले भने, ‘मागअनुसार आवेदन नपरेका जिल्लामा दुई दिन म्याद थप गरिएको छ ।’
अघिल्लो निर्वाचनको तुलनामा यसपटक आवेदन संख्या घटेको देखिन्छ । ०७९ को प्रतिनिधिसभा निर्वाचनमा एक लाख १५ हजार पद माग हुँदा दुई लाख ३३ हजार १०९ दरखास्त परेको थियो । युवापुस्ताको ठुलो हिस्सा वैदेशिक रोजगारीमा जानु तथा निर्वाचन प्रहरीका सुविधा आकर्षक नहुनुका कारण अपेक्षाकृत आवेदन नपरेको हुन सक्ने प्रहरी अधिकारीहरूको विश्लेषण छ ।
काठमाडौं उपत्यकाका तीनै जिल्लामा भने मागअनुसार नै दरखास्त परेको छ । काठमाडौंमा तीन हजार ८५४ निर्वाचन प्रहरीको कोटामा ६ हजार ९९ जनाले आवेदन दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनराज भट्टराईले बताए । ‘हाम्रो जिल्लामा पर्याप्त आवेदन परेको छ,’ उनले भने, ‘दरखास्त दिएका उम्मेदवारलाई ४ माघमा सम्पर्कमा बोलाइनेछ र ५ माघदेखि छनोट प्रक्रिया सुरु हुन्छ ।’
ललितपुरमा १६ सयको कोटामा १८ सयजनाको आवेदन परेको छ । भक्तपुरमा पनि मागअनुसार नै दरखास्त परेको एसपी सूर्यबहादुर खड्काले बताए । भक्तपुरमा एक हजार २७२ कोटा रहेकामा बिहीबारसम्म एक हजार ७०८ दरखास्त परेको छ ।
कास्कीलगायत उच्च जनघनत्व भएका केही जिल्लामा समेत दरखास्त कम परेपछि म्याद थप गरिएको छ । कास्कीमा दुई हजार ३०३ निर्वाचन प्रहरी माग गरिएकोमा बिहीबार बेलुकासम्म दुई हजारभन्दा कम मात्र आवेदन परेको छ । मधेश प्रदेशका जिल्लामा भने मागअनुसार नै दरखास्त परेको प्रहरीको भनाइ छ । पहाडी जिल्लामा युवाको संख्या कम हुनु पनि आवेदन न्यून हुनुको कारण मानिएको छ ।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई सहयोग गर्न ४० दिनका लागि निर्वाचन प्रहरी भर्ना गर्न लागिएको हो । नेपाल प्रहरीतर्फ एक लाख ३३ हजार ९९० र सशस्त्र प्रहरी बलतर्फ १५ हजार ११० कोटा छुट्याइएको छ । दुवै निकायको भर्ना प्रक्रिया सँगसँगै अघि बढाइएको छ ।
निर्वाचन प्रहरीमा भर्ना हुनेले प्रहरी जवानसरह तलब, रासनभत्ता तथा अन्य सुविधा पाउनेछन् । केही आवेदक रोजगारीसँगै अनुभव र देशसेवाको उद्देश्यले पनि निर्वाचन प्रहरीमा भर्ना हुने गरेका छन् । १८ देखि ५४ वर्ष उमेर समूहका नागरिकले आवेदन दिन सक्ने प्रावधान छ ।
नेपाल प्रहरीले ११ माघदेखि तालिम सुरु गर्ने तयारी गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलअन्तर्गत छनोट हुने निर्वाचन प्रहरीको तालिम छुट्टाछुट्टै हुनेछ र उनीहरूको पोसाक पनि फरक रहनेछ । नेपाल प्रहरीमार्फत भर्ना हुने म्यादी निर्वाचन प्रहरीलाई प्रत्यक्ष रूपमा मतदान केन्द्र (बुथ) मा खटाइनेछ भने सशस्त्र प्रहरी बलमार्फत भर्ना हुनेलाई बाहिरी गस्ती तथा कार्यालय सहयोगका कार्यमा परिचालन गर्ने तयारी छ ।