१९ पटक मन्त्री भइसकेका भण्डारीविरुद्ध पुस्तान्तरणको बहस, महोत्तरी–२ रोचक बन्दै
महोत्तरी –
आसन्न प्रतिनिधिसभा चुनावबारे अन्य क्षेत्रको तुलनामा महोत्तरी–२ मा फरक खालको चर्चा सुरु भएको छ। नेपाली राजनीतिमा पुस्तान्तरणको बहस चर्किएका बेला हेभिवेट र अवसरवादी नेताको ट्याग लागेका शरत्सिंह भण्डारीको उम्मेदवारीलाई लिएर चुनावी सरगर्मी ह्वात्तै बढेको छ।निर्वाचन आयोगका अनुसार यहाँ ३७ जनाको उम्मेदवारी परेको छ। अन्य सबै प्रायः नयाँ अनुहार भए पनि भण्डारी भने पञ्चायतकालीन अनुहार हुन्। १९ पटक विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका भण्डारीलाई यस पटक विपक्षी उम्मेदवारहरूले यही विषयलाई कमजोर बनाउने हतियार बनाएका छन्।
यहाँ जसपाबाट भण्डारीसँगै एमालेबाट कसिफ नदाफ, कांग्रेसबाट किरण यादव, नेकपाबाट लक्षुमनकुमार यादव, रास्वपाबाट दीपककुमार साह, राप्रपाबाट रामलखन साह, जनमत पार्टीबाट जयकुमार पाण्डेयलगायत उम्मेदवारहरू चुनावी मैदानमा छन्।२०३८ सालदेखि निर्वाचनमा सहभागी हुँदै आएका भण्डारीले अहिले सम्म एक पटक मात्र निर्वाचनमा पराजय बेहोरेका छन्। मधेसका सबैभन्दा चतुर नेता मानिने भण्डारीलाई विपक्षीहरूले जुनसुकै नारा बनाए पनि पुरानो विरासत यस पटक पनि फर्किनेमा उनी ढुक्क देखिन्छन् । अघिल्लो चुनावमा लोसपाबाट उम्मेदवार बनेका भण्डारीले सोही क्षेत्रमा निकटतम प्रतिस्पर्धी तमलोपाका विजय सिंहलाई १४ हजार ७० मतको फराकिलो मतान्तरले पराजित गरेका थिए।
संगठनात्मक रूपमा एक्लै लड्दा पनि उल्लेख्य मत ल्याएको र यस पटक जसपा एकीकृत भइसकेकाले आफ्नो खासै प्रतिस्पर्धी नरहेको दाबी भण्डारीको छ । तर, पुस्तान्तरणको बहस चर्किँदै गएको र यस पटक अवस्था भण्डारीले दाबी गरेजस्तो नहुन सक्ने स्थानीय बताउँछन्।
यसैबीच, पुराना अनुहारभन्दा नयाँ अनुहारप्रति अपेक्षा बढेको र भण्डारीले दाबी गरेजस्तो सहज नहुने आकलन पनि हुन थालेको छ। उमेरले ७१ वर्ष पुगेका भण्डारीले यो उम्मेदवारी अन्तिम पटक भएको भन्दै मतदातालाई फकाइरहेका छन्। तर, कतिपयले भने आश्वासन देखाएर सत्ताको भ¥याङ चढ्ने र पछि स्थानीय मुद्दा बिर्सिने गरेको आरोप पनि लगाउँदै आएका छन्।
लगातार आफू उठ्दै आएको क्षेत्रमा बलियो पकड बनाउँदै आएका भण्डारीले २०७४ सालको चुनावमा पनि क्षेत्र–२ बाटै चुनाव लडेका थिए। त्यसबेला उनी र किरण यादवबीच प्रतिस्पर्धा भएको थियो । यादवले १३ हजार ९७४ मत ल्याउँदा भण्डारीले ३० हजार ७२२ मत प्राप्त गरेका थिए। लगातार जित हासिल गर्दै आएका भण्डारीले आफ्नो कोही प्रतिस्पर्धी नरहेको बताए पनि नयाँ शक्तिसँग भने डर रहेको उनी निकट नेताहरू बताउँछन्। देशभर रास्वपाको लहर चलेको सन्दर्भमा सो पार्टीका उम्मेदवार दीपककुमार साहले कडा चुनौती दिन सक्ने स्थानीयको आकलन छ। कुल १५ जना उम्मेदवार विभिन्न दलबाट चुनावी मैदानमा छन् भने बाँकी सबै स्वतन्त्र उम्मेदवार हुन्।