केन्द्रीय सुरक्षा समिति बैठक : चुनावमा ड्रोनको प्रयोग निषेध, सामाजिक सञ्जाल दुरुपयोगविरुद्धको कारबाहीलाई प्रभावकारी बनाइने
गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा सुरक्षा तयारीबारे ब्रिफिङ लिँदै जोखिम आकलन गरी सुरक्षा व्यवस्था चुस्त राख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्।
बैठकले निर्वाचन तयारी सम्बन्धमा विगतका बैठकले गरेको निर्णय कार्यान्वयनको अवस्थाको समीक्षा गरी निर्वाचन नजिकिँदै गर्दा आउन सक्ने थप सुरक्षा चुनौतीहरूलाई चिर्न अवलम्बन गरिनुपर्ने रणनीतिबारे समेत मार्गदिशा तय गरेको गृह मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालय र रक्षा मन्त्रालयका सचिव तथा चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि रहने केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनलाई लक्षित गरी कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना– २०८२ बमोजिम जिम्मेवार निकायहरूले सम्पादन गरिरहेका कार्यहरू, जनशक्ति परिचालन तथा बन्दोबस्तीको योजनाबारे समीक्षा गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए।
बैठकले सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरीले सञ्चालनमा ल्याएको अत्याधुनिक युनिटलाई थप प्रभावकारी बनाउने, निर्वाचनविरोधी गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याई कारबाही गर्ने, निर्वाचनमा ड्रोनको प्रयोग गर्न प्रतिबन्ध लगाउने, निर्वाचनमा खटिएका सुरक्षाकर्मी र निर्वाचन प्रहरीको बिमा गर्ने, सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान गरी आवश्यक व्यवस्था गर्ने, निर्वाचन आचारसंहिताको उल्लंघन हुने गरी मिथ्या–भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्नेलगायतका निर्णय गरेको प्रवक्ता काफ्लेले जानकारी दिए।