Connect with us
Kapilvast Forest

बादलको अभिव्यक्तिले एमाले भित्रै विवाद

२०८२, २० चैत्र शुक्रबारमा प्रकाशित

काठमाडौं । संसद्को पहिलो बैठकमा एमालेका कार्यवाहक अध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा बादलले गरेको सम्बोधनको पार्टीभित्रै आलोचना भएको छ । पहिलो बैठकमा शुभकामना मन्तव्य दिन रोस्टममा उभिएका उनी पूरै प्रतिक्रियात्मक मात्र भएनन्, रास्वपा जितको बधाई नेपाली सेना, कर्मचारीतन्त्र र एनजिओलाई दिए ।

बादलले रास्वपाको भारी विजयमा नेपाली सेना, कर्मचारीतन्त्र (ब्युरोक्रेसी), सुशीला कार्की आयोग, बारबरा फाउन्डेसन, एनजिओको भूमिकालगायत निर्णायक रहेको टिप्पणी गरेका थिए । यसैगरी राष्ट्रियता, लोकतन्त्र र समृद्धिका नायकहरूलाई खलनायक र हत्याराको रूपमा स्थापित गर्ने काम भएको भन्दै आपत्ति जनाएका थिए । ‘देश जलाउने र राष्ट्रिय पहिचान मेटाउने पात्रहरूलाई महानायक बनाउने ती अदृश्य पात्रहरूले बाह्य रूपमा निर्णायक भूमिका खेलेका छन्,’ उनले भनेका थिए ।

जेनजी आन्दोलनका हतियारबन्द टिओबी समूहको संलग्नताबारे टिप्पणी गर्दा गृहमन्त्री सुधन गुरुङले आक्रोशभाव व्यक्त गरेका थिए । रास्वपाको जादुमय विजयका लागि बाह्य रूपमा अदृश्य शक्तिहरू, एआई, एल्गोरिदम र गोयबल्स शैली बाह्य रूपमा निर्णायक भूमिका खेलेको एमाले नेता बादलको टिप्पणी थियो । उनले कुन उद्देश्यका लागि हतियारधारी समूहहरू २३–२४ गते तिलस्मी रूपमा प्रकट भए भन्दै वर्तमान सरकारलाई प्रश्न गरेका थिए ।

कार्यवाहक अध्यक्षको समेत भूमिकामा रहेका नेता बादलको अभिव्यक्तिको पार्टी पदाधिकारीहरूले नै खण्डन गरेका छन् । उपाध्यक्ष विष्णु पौडेलले संसद्मा बादलको अभिव्यक्ति पार्टी नीतिविपरित रहेको प्रतिक्रिया जनाएका छन् । सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘दलको नेताको हैसियतले मा. रामबहादुर थापाले व्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यताविपरीत छन् । यससम्बन्धमा भोलि आयोजना गरिएको केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु ।’

त्यस्तै, एमाले उपमहासचिव योगेश भट्टराईले नेपाली सेनालगायत सुरक्षा अंगहरू, न्यायलयलगायत संवैधानिक अंगहरू र कर्मचारीतन्त्रप्रति पार्टीको कुनै पनि वैरभाव नभएको बताएका छन् । ‘त्यस्ता संस्थाप्रति हाम्रो पार्टीको सम्मान र विश्वास रहिरहनेछ । संसद् वा सडक, सत्तापक्ष वा प्रतिपक्ष कुनै पनि भूमिकामा पार्टीको यो धारणा यथावत् रहनेछ,’ उनले भने । अर्का उपाध्यक्ष गोकर्ण विष्टले पनि थापाको भनाइप्रति असन्तुष्टि जनाएका छन् । उनले शुक्रबार बस्ने सचिवालय बैठक यही विषयमा केन्द्रित रहने बताएका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu