Connect with us
Kapilvast Forest

रास्वपा नेता मिर्जा राशिद बेगमाथि कारबाही सिफारिस पत्र बाहिरियो, योजनाबद्ध अन्तर्घातको आरोप !

२०८२, २७ चैत्र शुक्रबारमा प्रकाशित

रास्वपा नेता मिर्जा राशिद बेगमाथि कारबाही सिफारिस पत्र बाहिरियो, योजनाबद्ध अन्तर्घातको आरोप

कपिलवस्तु ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा मुस्लिम कोटाबाट समानुपातिक उम्मेदवार रहेका मिर्जा राशिद बेगमाथि कारबाही प्रक्रिया अघि बढाइएको पत्र सार्वजनिक भएको छ । कपिलवस्तु क्षेत्र नं. ३ को निर्वाचन परिचालन समितिबाट जारी उक्त पत्रअनुसार, पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध योजनाबद्ध अन्तर्घात गरेको, संगठन विरोधी गतिविधिमा संलग्न रहेको तथा पार्टी हितविपरीत कार्य गरेको ठहर गर्दै केन्द्रीय अनुशासन आयोगमा कारबाहीका लागि सिफारिस गरिएको हो । समितिका सभापति बालकृष्ण पाण्डेयद्वारा हस्ताक्षरित उक्त पत्रमा २०८२ फागुन २६ गते बसेको बैठकले बेगका गतिविधि पार्टीको विधान, नीति र अनुशासनविपरीत रहेको निष्कर्ष निकालेको उल्लेख छ । पत्रमा प्रतिनिधिसभा सदस्यका आधिकारिक उम्मेदवार प्रकाश रजौरिया विरुद्ध योजनाबद्ध रूपमा अन्तर्घात गरिएको, संगठनलाई प्रत्यक्ष क्षति पुर्‍याइएको तथा दोष प्रमाणित भएकाले आवश्यक कारबाही प्रक्रिया अघि बढाउन सिफारिस गरिएको स्पष्ट गरिएको छ ।

स्रोतहरूका अनुसार, निर्वाचनका क्रममा बेगले नेपाली कांग्रेस का उम्मेदवार अभिषेक प्रताप शाह सँग साँठगाँठ गरी पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित गराउने रणनीतिमा भूमिका खेलेको आरोप छ । जिल्लास्तरका नेताहरूले प्रारम्भमा प्रत्यक्ष निर्वाचन लड्ने सहमतिमा पार्टी प्रवेश गरेका बेगले पछि केन्द्रमा प्रभाव पार्दै समानुपातिक सूचीमा आफ्नो नाम समावेश गराएको दाबी गरेका छन् । त्यस्तै, उनले वडा, नगर, जिल्ला र प्रदेश तहका संगठन संरचनालाई बाइपास गर्दै नातावाद र कृपावादलाई बढावा दिएको, नेताहरूलाई दबाब दिन ठूला दाबी प्रस्तुत गर्ने तथा प्रभाव देखाउने प्रयास गरेको आरोप समेत लागेको छ ।

टिकटको आश्वासन र भ्रमपूर्ण प्रचारको आरोप स्रोतका अनुसार मिर्जा राशिद बेगले निर्वाचनका समयमा पार्टीको मर्यादा बाहिर गएर वडा अध्यक्ष र मेयरको टिकट समेत बाँड्ने आश्वासन दिएका थिए। उनले नेपाली कांग्रेसका बहालवाला वडा अध्यक्षलाई समेत आगामी निर्वाचनमा रास्वपाबाट मेयरको टिकट दिने भन्दै प्रलोभनमा पारेको खुल्न आएको छ।

यति मात्र नभई, उनले पार्टीको आधिकारिक उम्मेदवार प्रकाश रजौरियालाई कमजोर बनाउन हरसंभव प्रयास गरेको बुझिएको छ। बेगले कार्यकर्ता र शुभेच्छुकहरूमाझ “पार्टीमा मेरो आफ्नै पकड छ, उम्मेदवारसँग कुरा नगर्नु” भन्दै भ्रमपूर्ण कुराहरू फैलाएर आधिकारिक उम्मेदवारलाई एक्ल्याउने रणनीति लिएको आरोप पत्रमा उल्लेख छ। उम्मेदवारलाई मनोवैज्ञानिक र सांगठनिक रूपमा कमजोर बनाउन उनले विभिन्न षडयन्त्र बुनेको स्थानीय नेताहरूको दाबी छ।
निर्वाचन अवधिमा मतदाताको समर्थनबारे भ्रामक तथा अतिरञ्जित आश्वासन दिएको र विशेषगरी कृष्णनगर क्षेत्रबाट ७ हजार मत दिलाउने प्रतिबद्धता पूरा नभएको आरोप पनि पत्रसँगै बाहिर आएको छ । स्रोतका अनुसार, उनले उम्मेदवारलाई केही क्षेत्रमा प्रचार नगर्नसमेत दबाब दिएका थिए, जसले चुनावी रणनीतिमा नकारात्मक प्रभाव पारेको बताइएको छ । यस्तै, पार्टी सभापति रवि लामिछाने को चुनावी कार्यक्रम तथा भ्रमण तालिकामा हस्तक्षेप गर्न खोज्दा सचिवालयस्तरबाट असन्तुष्टि जनाइएको पनि उल्लेख गरिएको छ । स्थानीय कार्यकर्ताहरूका अनुसार, बेगको जनाधार कमजोर भए पनि उनले प्रभावशाली छवि प्रस्तुत गर्दै संगठनलाई भ्रममा राख्ने प्रयास गरेका थिए ।

कपिलवस्तु–३ मा राजनीतिक वर्चस्व कायम राख्ने उद्देश्यले आफूभन्दा बलिया उम्मेदवारलाई रोक्ने रणनीति अपनाएको आरोपसमेत उनीमाथि लागेको छ । स्रोतहरूले ईश्वर दयाल मिश्र लगायतका नेताहरूको अवस्थालाई समेत आफ्नो पक्षमा प्रयोग गर्न खोजिएको दाबी गरेका छन् । यसैबीच, पार्टीले कारबाही प्रक्रिया अघि बढाएसँगै बेगको सदारण सदस्यता समेत जोखिममा परेको बताइएको छ । अब केन्द्रीय अनुशासन आयोगले उक्त सिफारिसका आधारमा थप छानबिन गरी अन्तिम निर्णय लिने तयारी गरिरहेको स्रोतको भनाइ छ ।
कारबाही सिफारिसपछि पनि मिर्जा राशिद बेग सार्वजनिक गतिविधिमा सक्रिय रहेको तथ्यसमेत बाहिर आएको छ। स्रोतका अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अनुशासनात्मक कारबाही प्रक्रिया अघि बढाइसकेको अवस्थामा पनि बेग विभिन्न सार्वजनिक तथा राजनीतिक कार्यक्रमहरूमा सहभागी हुँदै आएका छन्। ती कार्यक्रमहरूमा उनले आफूलाई पार्टीको केन्द्रीय सदस्य भनेर चिनाउने गरेको पाइएको छ। तर पार्टी स्रोतका अनुसार, बेग केन्द्रीय कार्यसमितिका औपचारिक सदस्य नभई संगठन विभागअन्तर्गतको सदस्य मात्रै रहेको खुलासा भएको छ। यसले पार्टीको आधिकारिक पद र जिम्मेवारीबारे गलत सन्देश प्रवाह भएको भन्दै थप विवाद सिर्जना गरेको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu