अस्पतालको ३८ लाख घोटाला काण्डमा ५ जना पक्राउ
न्युजसेन्टर नेपाल-
कपिलवस्तु शिवराज नगरपालिका अन्तर्गत रहेको आधारभूत स्वास्थ्य अस्पतालमा देखिएको ३८ लाख रुपैयाँभन्दा बढीको आर्थिक अनियमितता प्रकरणमा ५ जना पक्राउ परेका छ्न ।
गत आर्थिक वर्षको लेखापरीक्षणका क्रममा ३८ लाख १९ हजार रुपैयाँ बराबरका बैंक भौचर फेला परे पनि सम्बन्धित बैंक खातामा रकम दाखिला नभएको पुष्टि भएपछि अस्पताल प्रशासनमाथि गम्भीर प्रश्न उठदै आएको थियो ।
अस्पतालको फार्मेसी तथा विभिन्न सेवा शुल्कबाट संकलन गरिएको रकम विभिन्न मितिमा १२९ वटा भौचरमार्फत जम्मा गरिएको देखिए पनि नेपाल बैंक चन्द्रौटा शाखास्थित अस्पतालको खातामा उक्त रकम नदेखिएको स्रोतले जनाएको छ। त्यसपछि यो विषय सार्वजनिक हुँदै व्यापक चासोको विषय बनेको छ।
घटनामा अस्पतालका तत्कालीन प्रमुखदेखि स्वास्थ्य शाखा प्रमुख, फार्मेसी कर्मचारी, बैंक कर्मचारी पक्राउ परेका छन्।
प्रहरीले शिवराज नगरपालिका स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराई, डा. अमित पाण्डे र खातुन लगायतलाई पक्राउ गरि हिरासतमा राखिएको छ। यस्तै बैंकतर्फबाट कमल भण्डारी र विक्रम केसीसँग पनि पक्राउ गरि ७ दिनको म्याद थप गरिएको छ ।
अस्पतालका तत्कालीन प्रशासन शाखा प्रमुख बिरेन्द्र मिश्र, फर्मेशिष्ट लक्ष्मण रिमाल फरार छन ।
घटना सार्वजनिक भएको करिब एक महिनापछि शिवराज नगरपालिकाले अस्पतालका चार जना कर्मचारीविरुद्ध किटानी जाहेरी दिएको थियो । त्यससँग सम्बन्धित अन्य व्यक्तिहरूलाई पनि अनुसन्धानका लागि बोलाउने क्रम जारी रहेको प्रहरीले जनाएको छ।
स्थानीयवासीले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।
आर्थिक अनियमितताले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमै प्रश्न उठाएको भन्दै सर्वसाधारणले सत्यतथ्य बाहिर ल्याउन दबाब दिइरहेका छन्।