स्वीकृतिबिना अनुपस्थित डाक्टर र नर्ससहित २३ जनालाई स्पष्टीकरण
काठमाडौं । लामो समयदेखि स्वीकृतिबिना कार्यालयमा अनुपस्थित स्वास्थ्य सेवाका २३ जना कर्मचारीहरुलाई स्वास्थ्य मन्त्रालयले स्पष्टीकरण माग गरेको छ ।
मन्त्रालयले बिहीबार बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेका डाक्टर, नर्स र ल्याब टेक्निसियनहरुको नामावली सार्वजनिक गर्दै उनीहरुलाई १५ दिनभित्र सफाइ पेश गर्न भनेको हो ।
उनीहरुले स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ को उपदफा (१) को खण्ड (ज) बमोजिम बिदा स्वीकृत नगराई लगातार ६० दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको अवस्था देखिएको सूचनामा उल्लेख छ । त्यसैले सोही ऐनको दफा ७२ को खण्ड (ख) को उपखण्ड (१) बमोजिम भविष्यमा स्वास्थ्इ सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने विभागीय सजाय किन नगर्ने ? भनेर स्पष्टीकरण सोधिएको छ ।
‘विभागीय सजाय नगर्नुपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र आफ्नो सफाइ पेश गर्नुहुन सम्बन्धित कर्मचारीहरुलाई यसै सूचनाद्वारा जानकारी गराइएको छ,’ सूचनामा लेखिएको छ ।