सेयर बजारमा प्रायोजित हल्ला फैलाइयो, वितण्डा मच्चाउनेलाई अनुसन्धान गर्छौं : अर्थमन्त्रीको सचिवालय
काठमाडौं –
अर्थमन्त्री डा। स्वर्णिम वाग्लेको सचिवालयले सेयर बजारका विषयमा भ्रामक र प्रायोजित हल्ला फैलाइएको भन्दै लगानीकर्ताहरूलाई सचेत रहन आग्रह गरेको छ।नयाँ आर्थिक वर्ष २०८३र८४ को पहिलो दिन एक अपिल जारी गर्दै सचिवालयले नियमनकारी निकाय कब्जा गरेर बजारमा वितण्डा मच्चाउन खोज्नेहरू अनुसन्धानको दायरामा तानिएको स्पष्ट पारेको छ।
नयाँ सरकार बनेयता सेयर बजारमा भइरहेको गिरावट र लगानीकर्तामा देखिएको आक्रोशलाई सम्बोधन गर्दै सचिवालयले बजारको अवस्था ठिक नभएको भनी गलत भाष्य निर्माण गर्न खोजिएको दाबी गरेको छ।सचिवालयले भारतका कुख्यात सेयर कारोबारी हर्षद मेहताको प्रसङ्ग उल्लेख गर्दै नेपालको सेयर बजारमा पनि त्यस्तै प्रवृत्ति देखाउनेहरूमाथि कारबाही सुरु भएको सङ्केत गरेको छ।
’नियमनकारी निकायबाट सेयर बजार सुधारका कदमहरू सञ्चालन गर्न योजनाबद्ध कामहरू अघि बढेका छन्,’ सचिवालयको भनाइ छ, ’सेयर बजारमा नियमनकारी निकाय कब्जा गरेर हर्षद मेहता ९सन् १९९१, बम्बै० जस्तै वितण्डा मच्चाउनेहरू अनुसन्धानको फन्दामा परेका छन्।’
पक्राउ पर्ने हल्ला प्रायोजित
बजारमा निश्चित व्यक्तिहरूलाई पक्राउ गर्न लागिएको वा अनुसन्धान भइरहेको भनेर फैलाइएका हल्लाहरू पूर्णतस् गलत र प्रायोजित रहेको सचिवालयले प्रस्ट पारेको छ।
सरकार कम बोल्ने र काम धेरै गर्ने शैलीमा रहेको फाइदा उठाउँदै केही व्यक्तिले परिस्थितिजन्य लाभका लागि त्रास बेचेर लगानीकर्तालाई आतङ्कित बनाउन खोजेको सचिवालयको ठहर छ।
’नामै किटेर फलानो र ढिस्कानोलाई पक्राउ गरिँदै छ, फलानोमाथि अनुसन्धान गरिरहेको छ भन्नेजस्ता प्रायोजित हल्ला फैलाइएको सूचना पाएका छौँ,’ सचिवालयले भनेको छ, ’यो भनेको केही मानिसहरू ’आफ्नो टाउको फुटेपछि मितको टाउको बेलैसरी’ भनेझैँ लागिपरेको कुरा हो। तपाईंहरू ढुक्क हुनुस्, सरकारले त्यसरी काम गरिरहेको छैन र होइन।’
’क्लब हाउस र झिल्के नेताको भर नपर्नू’
अर्थमन्त्रीको सचिवालयले सेयर बजारसम्बन्धी आधिकारिक सूचनाका लागि सामाजिक सञ्जालका विभिन्न ग्रुप र बिचौलियाहरूको भर नपर्न लगानीकर्तालाई सचेत गराएको छ।
क्लब हाउस, ह्वाट्सएप वा म्यासेन्जर ग्रुप, टाई–सुट लगाएका ’झिल्के सङ्घका नेता’ र इमानदारी बेचेका मिडियाहरू आधिकारिक सरकारी सूचनाका स्रोत नभएको सचिवालयले कडा शब्दमा टिप्पणी गरेको छ।
उनीहरूले डर देखाएर आफ्नो लाभको काम गरिरहेको हुन सक्ने भन्दै आधिकारिक सरकारी निकायमा बुझेर र प्रशस्त अध्ययन गरेर मात्र दोस्रो बजारमा लगानी गर्न सचिवालयले सुझाएको छ ।
अर्थतन्त्रका सूचक सकारात्मक रहेको जिकिर
सचिवालयले सेयर बजार अर्थतन्त्रको महत्त्वपूर्ण अङ्ग भएको उल्लेख गर्दै हाल अर्थतन्त्रका सूचकहरू सकारात्मक र तीव्र सुधारोन्मुख रहेको दाबी गरेको छ।बजारमा प्रशस्त तरलता रहेको, ब्याजदर घटेको, सरकार स्थिर रहेको र नियमनकारी निकायमा विज्ञ तथा इमानदार व्यक्तिहरूको चयन भइरहेको तथ्यलाई सकारात्मक रूपमा लिन सचिवालयले आग्रह गरेको छ।
त्यसैगरी, सरकारले नियमित ठूलो आम्दानी हुनेलाई आयकर छुट दिएर खर्च र लगानी गर्न प्रोत्साहन गरेको तथा राजस्व विवादमा परेका हजारौँलाई ऐतिहासिक छुट सुविधामार्फत पुनस् सुरुवातको मौका दिएको विषयलाई पनि अर्थतन्त्र सुधारका कदमका रूपमा अर्थ्याइएको छ।