Connect with us
Kapilvast Forest

सेवाग्राहीलाई सास्ती, यातायातका कर्मचारीलाई मस्ती !

२०८३, १२ श्रावण मंगलवारमा प्रकाशित

न्युज सेन्टर नेपाल-
कपिलवस्तुको तौलिहवास्थित यातायात व्यवस्था सेवा कार्यालयमा सेवाग्राहीले पटक–पटक धाउँदा पनि सेवा नपाएको गुनासो बढ्दै गएको छ ।

कार्यालयमा पुगेका सेवाग्राहीका अनुसार कर्मचारीहरू अधिकांश समय मोबाइल चलाउन व्यस्त रहने गरेका छन् भने सेवाग्राहीलाई भने “सर्भर चलेको छैन”, “केही घण्टापछि आउनुस्” वा “भोलि आउनुस्” भन्दै फर्काउने गरिएको आरोप छ ।
शिवराज नगरपालिका–५ चन्द्रौटाका एक सेवाग्राही मोटरसाइकलको बिलबुक नवीकरण गर्न तीन पटक कार्यालय पुगिसकेका छन् ।

उनका अनुसार कार्यालय पुग्दा अधिकांश कर्मचारी मोबाइलमै व्यस्त देखिन्थे। कार्यालयका निमित्त प्रमुख गोविन्द प्रसाद चौधरीसमेत मोबाइलमै व्यस्त रहेको र केही कर्मचारी टिकटक तथा युट्युब हेर्दै बसेको उनले दाबी गरे ।

यस्तै पकडी क्षेत्रबाट ट्याक्टरको बिलबुक नवीकरण गर्न आएका अर्का सेवाग्राही पनि सेवा नपाई निराश भएर फर्किएका छन् । उनका अनुसार कर्मचारीहरूले “सर्भर चलेको छैन” भन्दै अर्को दिन आउन आग्रह गर्ने गरेका छन् । उनले सर्भर चलेको अवस्थामा पनि नचलेको बहाना बनाएर सेवाग्राहीलाई फर्काउने गरिएको आरोप लगाए ।

यस विषयमा कार्यालयका निमित्त प्रमुख गोविन्द प्रसाद चौधरीसँग प्रतिक्रिया माग्दा उनले साउन महिना लागेदेखि नै सर्भर नियमित रूपमा सञ्चालन हुन नसकेको बताए ।
उनका अनुसार साउन लागेपछि हालसम्म एक दिन मात्र सर्भर सञ्चालन भएको छ।
कर्मचारीहरू दिनभर मोबाइल चलाएर बस्ने र सेवाग्राहीको काममा बेवास्ता गर्ने गुनासोबारे प्रश्न गर्दा भने चौधरीले स्पष्ट प्रतिक्रिया दिन चाहेनन् । बरु उनले कार्यालय आएका सेवाग्राहीसग प्रतिप्रश्न गरे । यातायातको समाचार नलेख्नु होला भन्दै चौधरी उल्टै कडकिय ।

यातायात सेवा लिन टाढा–टाढाबाट आउने सेवाग्राहीहरू पटक–पटक धाउन बाध्य हुँदा समय, श्रम र आर्थिक भारसमेत बढेको गुनासो गरेका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu