‘सरकारले अरुण यादवलाई सहिद घोषणा गरी क्षतिपूर्ति देओस्’
कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–६, जिगिना चोकमा प्रहरीको गोली लागेर मृत्यु भएका २२ वर्षीय अरुण यादवलाई सहिद घोषणा गर्न उनका परिवार तथा स्थानीयवासीले सरकारसँग माग गरेका छन् ।
गत चैत ७ गते दुई समुदायबीच भएको हिंसात्मक झडप नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएका यादवको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो। उनको आन्द्रामा गोली लागेर गहिरो घाउ भएपछि शल्यक्रिया गरिएको थियो ।
यादवको मृत्यु भएको लामो समय बितिसक्दा पनि सरकारले सहिद घोषणा तथा परिवारलाई क्षतिपूर्तिका विषयमा कुनै सम्बोधन नगरेको भन्दै परिवार र स्थानीयवासीले असन्तुष्टि जनाएका छन् ।
सुनसरी घटनामा मृत्यु भएका व्यक्तिहरूलाई सरकारले सहिद घोषणा गरी क्षतिपूर्ति उपलब्ध गराएको उल्लेख गर्दै स्थानीयवासीले अरुण यादवलाई पनि सहिद घोषणा गरी उनका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् ।
गृहमन्त्री सुदन गुरुङले यही हप्ता सुनसरीका पीडितहरूलाई भेटेर सहिद घोषणा र क्षतिपूर्ति दिनका लागि सातबुँदे सहमति गर्नुभएको हो ।
यादवका हजुरबुवा तिलकराम यादवले पटकपटक सरकारको ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित पक्षबाट कुनै आश्वासन नआएको बताउनुभयो । राज्य पक्षबाट चलाइएको गोली लागेर आफ्नो नातीको मृत्यु भए पनि सरकारले घटनाप्रति गम्भीरता नदेखाएको उहाँको गुनासो छ ।
“राज्य पक्षबाट गोली चलेर मेरो नातीको ज्यान गयो, तर सरकारले अहिलेसम्म कुनै सम्बोधन गर्न सकेको छैन,” तिलकराम यादवले दुखेसो पोख्नुभयो ।
बुटहनियाका अटल यादव भन्छन् सरकारले अन्य घटनाका पीडितहरूले क्षतिपूर्ति दिइसक्यो तर कपिलवस्तु घटना पीडितलाई बेवास्ता गरेको छ सरकारले चाँडै क्षतिपूर्ति दियोस् ।
यादव भन्छन् “कपिलवस्तुका अरुण यादवलाई तत्काल सहित घोषणा गरी क्षतिपूर्ति दिनुपर्छ नत्र हामी आन्दोलनमा उत्रिन्छौं ।”
घटनाका क्रममा यादवसहित पाँच जना गोली लागेर घाइते भएका थिए। अन्य चार जना भने भैरहवास्थित मेडिकल कलेजमा उपचारपछि घर फर्किसकेका छन् ।
गत चैत ७ गते इदका दिन महाराजगञ्जको बरगदा गाउँमा नमाज पढ्ने क्रममा नजिकै रहेको काली मन्दिरमा चर्को स्वरमा भजन बजाइएको विषयलाई लिएर मुस्लिम र हिन्दु समुदायबीच विवाद सुरु भएको थियो। विवादले उग्र रूप लिएपछि महाराजगञ्जको जिगिनाहा चोकमा प्रदर्शन भएको थियो ।
प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज, दर्जनौँ राउन्ड अश्रुग्यास तथा हवाई फायर गरेको थियो । त्यसक्रममा गोली चल्दा यादवसहित पाँच जना घाइते भएका थिए ।
घटनापछि मन्दिर तोडफोड गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो। यस्तै, तोडफोड तथा सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको आरोपमा थप चार जनालाई पक्राउ गरी मुद्दा चलाइएको थियो ।
यादवको परिवार र स्थानीयवासीले घटनामा राज्य पक्षबाट गोली चलेको भन्दै निष्पक्ष छानबिन, यादवलाई सहिद घोषणा तथा परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग पुनः माग गरेका छन्।