चाडपर्व लक्षित सुरक्षा योजना लागू, लुम्बिनी प्रदेशमा ७ हजार ९ सय २१प्रहरी परिचालन गरिने
काठमाडौं । दशैँ, तिहार, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्व विशेष सुरक्षा योजना–२०८३’ लागू गरेको छ।
चाडपर्वका क्रममा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, नागरिकको सुरक्षा तथा सहज आवागमन सुनिश्चित गर्न देशभर व्यापक रूपमा प्रहरी परिचालन गरिने भएको हो ।
नेपाल प्रहरीले चाडपर्वको समयमा चोरी, ठगी, डकैती, लुटपाट, जुवातास, अनलाइन ठगी, बेटिङ, नक्कली नोटको कारोबार तथा अवैध हुण्डी लगायतका गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राखेको जनाएको छ। यस्तै, अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने अवैध हातहतियार, पटका, विस्फोटक पदार्थ तथा लागूऔषधको ओसारपसार र तस्करी नियन्त्रणमा समेत विशेष निगरानी गर्ने प्रहरीले जनाएको छ ।
सुरक्षा योजनाअन्तर्गत काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीसहित सातवटै प्रदेश प्रहरी कार्यालयबाट ५० हजार ४ सय ५८ जना प्रहरी जनशक्ति परिचालन हुनेछन्।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीअन्तर्गत ७ हजार ६ सय ६८, कोशी प्रदेशमा ८ हजार १ सय ३३, मधेश प्रदेशमा ७ हजार २ सय ३०, बागमती प्रदेशमा ४ हजार ४ सय ९९, गण्डकी प्रदेशमा ५ हजार १ सय ८८, लुम्बिनी प्रदेशमा ७ हजार ९ सय २१, कर्णाली प्रदेशमा ५ हजार ३ सय १४ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ५ सय ५ जना प्रहरी परिचालन हुनेछन्।
चाडपर्वका समयमा सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने भएकाले यात्रु तथा सडक सुरक्षालाई विशेष प्राथमिकता दिइएको छ। देशभर ४ सय ८ वटा यात्रु सहायता कक्ष स्थापना गरी १ हजार १ सय ६५ जना प्रहरी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ। यस्तै, अन्तर्राष्ट्रिय सीमा नाकाका १ सय ८ स्थानमा हेल्प डेस्क स्थापना गरी थप ७ सय ५ जना प्रहरी परिचालन गरिएको छ।