Connect with us
Kapilvast Forest

बुटवल उपमहानगरकाे बजेटमा के छ

२०७९, ११ असार शनिबारमा प्रकाशित

बुटवल- बुटवल उपमहानगरले यसपटक वडास्तरबाट परिचालन हुने बजेटको सीमालाई बढाएर १६ करोड ५० लाख पुर्‍याएको छ। बुटवल उपमहानगरपालिकाको बजेटले राजस्वका दरलाई वृद्धि नगरी विभिन्न क्षेत्रमा लाग्ने करमा छुट दिएको छ।

सम्पत्ति कर, बहाल कर, हाटबजार बैठकी, विद्युतीय रिक्सा नवीकरण/रूट इजाजत जस्ता कर तथा गैरकरका दरहरू कम्तीमा १० प्रतिशतसम्म न्यून गरेको र निश्चित समय निर्धारण गरी तोकिएको समयमा कर बुझाउने करदातालाई १५ प्रतिशतसम्म छुट दिने भएको छ।

यस्तै, सम्पत्ति कर र भूमिकर २०७९ कात्तिक मसान्तसम्म बुझाउँदा निर्धारित खुद करमा १० प्रतिशत छुट दिने, पेसा व्यवसाय कर र घरबहाल करमा ५ देखि १५ प्रतिशतसम्म छुट दिने प्रस्ताव बजेटमा गरिएको छ।

बुटवलले नवीकरण गर्न छुटेका व्यवसायहरूको नवीकरण गर्दा अगाडिको कर तथा जरिवानामा समेत छुट दिने भनेको छ।

यस्तै, राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक विस्तारका क्रममा व्यवसाय सञ्चालन हुन नसकेर मर्कामा परेका राजमार्ग मोहडाका सटरका व्यवसायीहरूलाई व्यवसाय करमा थप ३५ प्रतिशत छुट उपमहानगरले दिने भएको छ।

बुटवलले बजेटमार्फत् जनतासँग प्रमुख, नगरप्रमुख ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम, क्षयरोगमुक्त अभियान, स्वस्थ जीवनशैलीका लागि योग, नगरवासीलाई आधारभूत स्वास्थ्य सेवा नि:शुल्क गर्ने अवधारणा कार्यान्वयन गर्ने जस्ता कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ।

स्वच्छ खानेपानी, फोहोरमैला व्यवस्थापन, सार्वजनिक शौचालय निर्माण, शैक्षिक गुणस्तर सुधारजस्ता कार्यक्रम बजेटमा परेका छन्।

यस्तै, प्रकोप व्यवस्थापनका लागि पूर्वतयारी, कृषि, पशु विकास, श्रम रोजगारी, वन वातावरण, सहकारी प्रवर्द्धन, पर्यटन विकास, छाडा चौपाया नियन्त्रण, रोजगारी सिर्जना जस्ता कार्यक्रमले पनि बजेटमा प्राथमिकता पाएका छन्।

आधारभूत स्वास्थ्य सेवा निःशुल्क बनाउन स्वास्थ्य संस्थाको स्तरोन्नति, सबै वडामा स्वास्थ्य संस्था स्थापना तथा स्वास्थ्य सेवा प्रवाह गर्दै सुविधा सम्पन्न १५ बेडको नगर अस्पतालका लागि बजेट परेको छ।

यस्तै, आयुर्वेदिक अस्पताल स्थापना, ज्येष्ठ नागरिकको स्वास्थ्य चेकजाँच, मधुमेह, उच्च रक्तचाप, नियमित सेवनका औषधिहरू वितरण, चौमासिक परामर्शका लागि जनतासँग प्रमुख कार्यक्रम, नवजात शिशु, आमा र बालबालिकाको पोषण लक्षित उपप्रमुख सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गर्ने नीति नगरले लिने भएको छ।

सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा डिप्लोमा तहको प्यारामेडिकलका विषयहरू अध्यापन गराउन प्रक्रिया अघि बढाउने, बुटवल टेक्निकल इन्स्टिच्युटमा स्नातक तहको अध्ययनका लागि पहल गर्ने, अटो भिलेजमा डिप्लोमा तहको अटो इन्जिनियरिङ कलेज सञ्चालनका लागि पहल गर्न बजेट छुट्याइएको छ।

लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालयको रूपमा विकास गर्ने, माध्यमिक तहका विद्यालयमा विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब स्थापना गर्ने, सामुदायिक विद्यालयहरूको एकीकृत वेबसाइट निर्माण गर्ने, नगरभित्रका सामुदायिक विद्यालयहरूमा नि:शुल्क सेनेटरी प्याड वितरण गर्ने नीति नगरले अघि सारेको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu