आगामी आर्थिक वर्षदेखि बजेट रकमान्तर रोकिन्छ : अर्थमन्त्री पौडेल
भैरहवा- उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट रकमान्तर गर्ने परिपाटी आगामी आर्थिक वर्षदेखि पूर्णरूपमा रोक्ने गरी बजेट नीति तथा कार्यक्रम ल्याउन लागेको बताउनुभएको छ ।
रुपन्देहीका सरकारी कार्यालयका प्रमुखसँग भैरहवामा छलफल गर्नुहुँदै अर्थमन्त्री पौडेलले भन्नुभयो, “औचित्यताको आधारमा नबनाई आफूखुसी बजेट बनाउने र वर्षको बीचमा आएर बजेट रकमान्तरण गर्ने गलत परिपाटी रोक्न हामीले नीति नै बनाउँदै छौँ । अर्को वर्षदेखि बजेट रकामान्तर नै गर्न नपाउने गरी कार्यक्रम ल्याउछौँ ।
उहाँका अनुसार संघ, प्रदेश, स्थानीय सरकार मात्रै नभई सरकारी कार्यालयले आर्थिक वर्षको मध्यमा आएर बजेट रकमान्तर गरेर नयाँ काम गर्ने पुरानो परम्परा रहँदै आएको छ ।उहाँले योजना छरपस्ट बनाउने र कार्यान्वयन गर्ने बेला फितलो हुने प्रचलनलाई रोक्न बजेटको रकमान्तरणमा रोक लगाउन लागेको स्पष्ट पार्नुभयोे ।