भारतीय पर्यटकलाई नेपालमा ट्राफिक प्रहरीको सास्ती
न्युज सेन्टर नेपाल-
नेपालमा धार्मिक स्थलहरूको दर्शन गर्न आएका भारतीय पर्यटकहरूले नेपालका ट्राफिक प्रहरीबाट सास्ती भोग्नु परेको गुनासो बढेको छ। उत्तर प्रदेशका विभिन्न जिल्लाबाट प्यूठानको स्वर्गद्वारी र अर्घाखाँचीको सुपादेउरालीको दर्शन गर्न आएका भक्तजनहरूले नेपालका ट्राफिकले अनावश्यक दुःख दिएको आरोप लगाएका छन्।
भारतीय पर्यटक विकास सिंहका अनुसार, नेपालमा भन्सार पूरा गरेरै आएका सवारी साधनलाई ट्राफिक प्रहरीले विभिन्न बहानामा दुःख दिएको छ। प्यूठान पुग्दासम्म करिब १० ठाउँमा रकम बुझाउनु परेको सिंहले बताए। उनले ट्राफिक नियमको नाममा यात्रामा अवरोध सिर्जना गरिएको गुनासो गरे।

अर्घाखाँचीको सुपा देउराली दर्शन गर्न आएका राहुल चौधरीले नेपालको ट्राफिक कानुनका कारण धार्मिक यात्रामा कठिनाइ भएको बताए। सोमबार सुपा देउराली जाँदा कपिलवस्तुको चन्द्रौटामा ट्राफिकले हेलमेट नबाँधेको भन्दै उनका कागजात राखिदिएको थियो।
त्यसपछि ट्राफिकले गोरुसिङ्गे कार्यालयमा पठाइ दिएपछि समस्या झन् जटिल बनेको उनले बताए। उनले भने नेपालमा धेरै दुख पाइयो ।
यसैगरी, सिद्धार्थनगरका भगत यादवले ट्राफिकको झन्झटिलो नियमका कारण भारतका नागरिकहरू आजित भएको गुनासो गरे। उनले रसिद काट्ने र कागज बुझाउने प्रक्रियाबारे स्पष्ट जानकारी नपाउँदा झन् समस्यामा परेको बताए।
यता, ट्राफिक प्रहरीले भने नियम उल्लंघन भएकाले जरिवाना काट्न बाध्य भएको दाबी गरेको छ। तर, भारतीय भक्तजनहरूले नियमको नाममा अनावश्यक दुःख दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।