बैंकिङ कसुरमा कपिलवस्तुका एमाले नेता पक्राउ
न्युज सेन्टर नेपाल-
कपिलवस्तु- नेकपा एमाले कपिलवस्तु नगर कमिटीका अध्यक्ष श्याम प्रजापति बैंकिङ्ग ठगी र चेक अनादरको आरोपमा पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले शुक्रबार १८ लाख ६० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रजापतिलाई पक्राउ गरेको हो । प्रजापतिलाई जिल्ला अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार, प्रजापतिलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो ।
प्रहरीले यस मुद्दामा कस्ले उजुरी दिएको हो भन्ने अझैसम्म खुलासा गरेको छैन ।
यस घटनाले कपिलवस्तु जिल्लामा ठूलो चर्चा पाएको छ । श्याम प्रजापति कपिलवस्तु बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति र अनेरास्ववियुका पूर्व केन्द्रिय सचिव हुन्, जसको कारण उनको गिरफ्तारीले एमाले भित्र ठूलै हलचल मच्चाएको छ।
एमाले नेताहरूकै ‘ग्रेन्ड डिजाइन’ मा प्रजापति पक्राउ ।।
प्रजापतिलाई पक्राउ गर्नु पछाडि एमाले भित्रकै केही नेताहरुको योजना रहेको एमाले स्रोतले दाबी गरेको छ ।
स्रोतका अनुसार, कपिलवस्तु नगर कमिटी निर्वाचनको मुखमा बाबुराम खनाल निकट मानिने श्याम प्रजापतिलाई उम्मेदवार बन्न नदिन र ब्रिजेश गुप्ता निकट विवादित व्यापारी सञ्जय गुप्तालाई एकलौटी उम्मेदवार बनाएर जिताउनका लागि यो मुद्दा दर्ता गरिएको हो ।
यो घटना एमाले भित्रको आन्तरिक विवादको प्रत्यक्ष नतिजा भएको पनि स्रोतले जनाएको छ । एमालेको कपिलवस्तु बिभिन्न गुटहरुबीच चलिरहेको शक्ति संघर्ष यस घटनाले स्पष्ट रूपमा देखाएको छ । बाबुराम खनाल निकट श्याम प्रजापतिलाई लक्षित गरेर गरिएको यो गिरफ्तारीले आगामी निर्वाचनलाई प्रभावित पार्ने संकेत गरेको छ।
आन्तरिक विवाद र आरोप-प्रत्यारोप ।।
श्याम प्रजापतिलाई पक्राउ गरेपछि एमाले भित्रकै नेताहरुबीच आरोप-प्रत्यारोप सुरु भएको छ । केही नेताहरुले यसलाई सत्ताको दुरुपयोगको उदाहरण मान्दै आलोचना गरेका छन् भने केहीले पार्टीको आन्तरिक सफाइको रूपमा समर्थन गरेका छन ।
एमाले भित्रकै एक नेताका अनुसार, “प्रजापति पक्राउ गर्नु पूर्णतः योजनाबद्ध हो । पार्टीको केही नेताहरुले आफ्ना समर्थकहरुलाई अघि बढाउन र शक्तिमा पकड जमाउनका लागि यो कदम उठाएका छन ।”
अन्य नेताहरुले भने प्रजापतिलाई कानूनी प्रकृयामा सहयोग गर्न र यदि उनी निर्दोष छन् भने सफाइ दिन आग्रह गरेका छन ।
यो घटनाले पार्टी भित्रको विभाजनलाई झन् गहिरो बनाएको छ र आगामी निर्वाचनमा यसको ठूलो असर पर्ने देखिन्छ।
श्याम प्रजापतिको गिरफ्तारीले कपिलवस्तुमा एमाले पार्टी भित्रको गुटबन्दी र आन्तरिक विवादलाई सतहमा ल्याएको छ।