विजयनगरका अधिकृत रिजालले श्रीमतीलाई सेटिङ्गमा जागिर खुवाए
न्युजसेन्टर नेपाल – कपिलवस्तुको विजयनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले आफ्नो श्रीमती मीना केसीलाई सेटिङ्गमा जागिर खुवाएको रहस्य खुलेको छ ।
अधिकृत रिजालले २०८० जेठ १ गते श्रीमती केसीलाई फिल्ड सहायकको चौथो तहमा करारमा नियुक्ति दिएका हुन् ।
गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाको मौन समर्थनमा यो सेटिङ्ग मिलाइएको बताइएको छ । गोप्य जानकारीका आधारमा पालिकाका केही कर्मचारीहरूको मिलेमतोमा सिमित व्यक्तिको कागजात पेस गरेर मीना केसीको नाम पहिलो नम्बरमा निकालिएको हो ।
पालिकाका एक कर्मचारीले भने, हाकिमकै श्रीमती भएकाले कसैले बिरोध गरेनन् ।
भर्ना प्रक्रिया मिलाउनका लागि अन्य केही कर्मचारीका श्रीमतीहरूको कागजात गोप्य रूपमा पेस गरिएको उनले बताए ।
हाकिमकै श्रीमतीलाई जागिर खुवाएकाले स्थानियहरूले कडा आलोचना गर्दै, फिल्ड सहायक पदको विज्ञापनको दुरुपयोग भएको आरोप लगाएका छन । यो प्रकरणले गाउँपालिकाको आलोचना भैरहेको छ ।
अधिकृत रिजालले सामाजिक सञ्जालमा पत्रकारहरू विरुद्धमा जथाभावी लेख्दै आएका छन ।
स्रोतका अनुसार, रिजालले आर्थिक हिनामिना गरेको आरोपमा अख्तियारमा उजुरी समेत परेको छ ।