Connect with us
Kapilvast Forest

पाटीमा जन्मिएको भगवती मावि नगरपालिकाकै उत्कृष्ट

२०८२, ५ जेष्ठ आईतवारमा प्रकाशित

काठमाडौं –

कक्षा ८ मा अध्ययनरत अनुषा घिमिरे काभ्रेपलाञ्चोकको मण्डनदेउपुरबाट दैनिक ९ किलोमिटर यात्रा तय गर्दै काठमाडौंको साँखुस्थित भगवती मावि धाउँछिन् ।मण्डनदेउपुर नगरपालिका–१ घर भएकी अनुषाले आफ्नो गाउँमा स्कूल नभएर यो दुःख बेसाएकी भने होइनन् । भगवती माविको अब्बल पठनपाठनले उनलाई यति टाढासम्म खिचेको हो ।अनुषा भन्छिन्, ‘घरबाट कात्तिकेसम्म बुबाले बाइकमा ल्याइदिनुहुन्छ । कात्तिकेबाट स्कूल बसमा आउनेरजाने गरेकी छु ।’ गाउँमा स्कूल भए पनि भगवती माविको पढाइ राम्रो भएकोले आफू लगायत अन्य विद्यार्थी साँखु आउने गरेको उनले बताइन् ।

‘गाउँमा स्कूल त छ, तर यहाँको पढाइ राम्रो हुने भएकाले आएका हौं’ उनले भनिन्, ‘भगवती माविमा अंग्रेजी र नेपाली दुवैमा पढ्न पाइन्छ । यो शंखरापुर नगरपालिकाकै टप स्कूल हो ।’अनुषासँगै मण्डनदेउपुरबाट १० जना विद्यार्थी भगवती माविमा पढ्न आउँछन् । कक्षा २, ३, ६, ७, ९ कक्षाका विद्यार्थी आउने उनले बताइन् ।विद्यालयका प्रधानाध्यापक अनुप श्रेष्ठका अनुसार विद्यालयको पठनपाठनले टाढा–टाढाका विद्यार्थीलाई समेत आकर्षित गरेको छ । उनी भन्छन्, ‘साँखुबाट कात्तिके करिब ९ किलोमिटरको दूरीमा पर्छ । विद्यालयमा एउटा स्कूल बस छ । बसमा मण्डनदेउपुरदेखिका विद्यार्थी हाम्रो विद्यालयमा पढ्न आउँछन् ।’

गत आइतबार भगवती मावि पुग्दा प्रधानाध्यापक श्रेष्ठलाई विद्यार्थी भर्नाका लागि तारन्तार फोन आइरहेको थियो । नेतादेखि जनप्रतिनिधिसम्मको फोन उठाउन उनलाई भ्याई–नभ्याई थियो । थलीदेखिका अभिभावकले समेत उनलाई फोन गरेर विद्यार्थी भर्नाबारे सोधखोज गरिरहेका थिए ।‘थलीमा स्कूल बस आउँछ कि आउँदैन भनेर सोध्नुहुन्छ । स्कूलको एउटा मात्र बस छ । कात्तिकेसम्म लैजाने गरेका छौं’ उनले भने, ‘भर्नाको समयमा धेरैतिरबाट फोन आउँछ । तर सिट हुँदैन ।’ शंखरापुर नगरपालिकाको साँखु बजारमा रहेको यो सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी भर्ना गर्न अभिभावक पनि उत्साहित देखिन्छन् ।

कान्छीमाया तामाङ आइतबार नै छोरीको भर्ना गर्न विद्यालयमा आएकी थिइन् । छोरी पढाउनकै लागि उनी ललितपुरको भैंसेपाटीबाट साँखुमा डेरा सरेकी रहिछिन् । ‘छोरीलाई ७ कक्षामा भर्ना गरें । यो स्कूलको पढाइ राम्रो हुन्छ भन्ने सुनेकी थिएँ । सरकारीमा पनि बोर्डिङको भन्दा राम्रो पढाइ हुने भएपछि छोरीलाई भर्ना गरेकी हुँ’, उनले सुनाइन् । विद्यार्थी र अभिभावकको यतिविघ्न आकर्षण बढ्नुको कारण स्तरीय शिक्षा नै भएको दाबी गर्छन्, प्रधानाध्यापक श्रेष्ठ । ‘हाम्रो विद्यालयमा नियम कडा छ । विद्यार्थी अनुशासित हुनुपर्छ । निजीको भन्दा राम्रो शिक्षा दिएका छौं । त्यसैले धेरैकोे रोजाइमा परेको हो’, श्रेष्ठले भने ।

भगवती माविले प्रवेश परीक्षा लिएर मात्र नयाँ विद्यार्थी भर्ना गर्ने गरेको छ । निजी नै छोडेर विद्यार्थीहरू आउन थालेपछि विद्यालयले प्रवेश परीक्षा लिन थालेको हो ।‘निजीका धेरै विद्यार्थी आउनुहुन्छ । सीधै भर्ना गर्‍यो, पछि नतिजा राम्रो नआउने भयो । त्यसैले भर्ना अगाडि प्रवेश परीक्षा लिन थालेका हौं’ प्रधानाध्यापक श्रेष्ठले भने, ‘प्रवेश परीक्षामै निजीबाट आएका विद्यार्थी अनुत्तीर्ण हुन्छन् । गणित र विज्ञान मात्र होइन, अंग्रेजी विषयमै अनुत्तीर्ण हुन्छन् ।’

प्रवेश परीक्षामा अनुत्तीर्ण विद्यार्थीलाई भर्ना गर्ने वा नगर्ने समस्या हुन्छ । ‘हाम्रो सामुदायिक विद्यालय हो, कमजोर भयो भनेर भर्ना लिंदैनौं भन्न मिल्दैन । सिट क्षमता भएसम्म भर्ना लिने गरेका छौं’ उनले भने, ‘पछि अभिभावकले गुनासो गर्न आएपछि शुरूमा निजीबाट आउँदा कस्तो थियो भनेर देखाउने गरेका छौं ।’विद्यालयमा कक्षा ५ सम्म एउटा कक्षामा ३२ सिट र ६ देखि १२ सम्म ४० जनाको सिट छ । ‘एउटा बेञ्चमा दुई जनाभन्दा बढी राख्ने गरेका छैनौं’, श्रेष्ठले भने ।कक्षा घटाएर भए पनि विद्यार्थी भर्ना गर्न अभिभावकले अनुरोध गर्ने गरेका छन् । ‘बच्चा प्रवेश परीक्षामा अनुत्तीर्ण भएपछि अभिभावकले कक्षा घटाएर भए पनि भर्ना गर्न भन्नुहुन्छ’, प्रधानाध्यापक श्रेष्ठले भने ।

पाटीमा जन्मिएको स्कूल

पञ्चायत कालको कुरा हो । त्यतिबेला साँखु क्षेत्रमै घर भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता जोगमेहर श्रेष्ठ शक्तिमा थिए । उनको पहलमा साँखुमा एउटा विद्यालय स्थापना भयो ।जोगमेहरले आफू शक्तिमा भएका बेला स्कूल स्थापना गरेको उनका विपक्षीलाई चित्त बुझेन । त्यसैले उनीहरूले अर्को विद्यालय खोल्ने निर्णय गरे । भगवती मावि त्यही विद्यालय हो, जुन जोगमेहरका विरोधीहरूले स्थापना गरेका थिए ।

‘२०३९ सालमा यो विद्यालय एउटा पाटीबाट शुरू गरिएको हो । त्यतिबेला जोगमेहरका विपक्षीहरूले खोलेका रहेछन्’, प्रधानाध्यापक श्रेष्ठले विद्यालय स्थापनाको कथा सुनाए ।२०४५ सालको भूकम्पपछि भगवती मावि पाटीबाट टहरामा आयो । अहिले विद्यालयको दरबार जस्तो भवन बनेको छ । ‘२०७२ सालको भूकम्पपछि यूएसआईडीले नयाँ भवन बनाइदियो’ प्रधानाध्यापक श्रेष्ठले भने, ‘भौतिक संरचनासँगै कक्षा पनि बढाउँदै लगिएको हो ।’टहरामा चलिरहेको विद्यालयमा अहिले डेस्क, बेञ्च, विज्ञान प्रयोगशाला, कम्प्युटर कोठा, पुस्तकालय, सभा हल, व्यवस्थित शौचालय, अडियो–भिडियो र संगीत कोठा छन् । त्यसका साथै प्राथमिक र माध्यमिक तहका लागि बेग्लाबेग्लै भवन छन् ।२०५२ सालमा निमावि, २०५६ मा मावि र २०६४ मा कक्षा १२ सम्म पढाउने स्वीकृति विद्यालयले पाएको प्रधानाध्यापक श्रेष्ठ बताउँछन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu