मनकामना वनको अध्यक्षमा कुँवर र गैरे आमनेसामने
सनिउल्ला धोबी – कपिलवस्तुको शिवराज नगरपालिका–१ स्थित मनकामना सामुदायिक वन उपभोक्ता समितिको आसन्न अधिवेशनमा अध्यक्ष पदका लागि दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।
यही जेठ १७ गते शनिबार हुने अधिवेशनमा बिनोद कुँवर संयुक्त प्यानलबाट र डिल प्रसाद गैरे नेकपा (एमाले) प्यानलबाट उम्मेदवार बनेका छन् ।
अध्यक्ष पदका उम्मेदवार बिनोद कुँवरले वन क्षेत्रमा देखिएको अनियमितता, वन स्रोतको दोहन, र उपभोक्ताको सहभागिताविनाको निर्णय प्रक्रियालाई अन्त्य गर्न आफूले उम्मेदवारी दिएको बताउनुभयो । उहाँले विगतका समितिहरूमा देखिएको अपारदर्शिता, आर्थिक हिनामिना, र गुटबन्दीको अन्त्य गर्दै वनलाई पारदर्शी, समावेशी र उपभोक्ता हितमा संचालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कुँवरले भन्नुभयो, “विगतका नेतृत्वहरूले वनलाई आफ्नो व्यक्तिगत स्वार्थपूर्तिको माध्यम बनाउँदै आएका छन् । म नेतृत्वमा आए आर्थिक पारदर्शिता कायम गर्छु, वन स्रोतको दीगो व्यवस्थापन गर्छु र उपभोक्ताको विश्वास जित्ने खालको नेतृत्व दिन्छु ।”
यसअघि पनि कुँवर सामाजको विभिन्न तहमा आवद्ध रहीसकेको अनुभव बोकेका व्यक्तित्व मानिन्छन् । उहाँले वनको आम्दानी वितरणमा न्यायोचितता, वन हेरालु र कर्मचारी व्यवस्थापनमा सुधार, र वातावरण संरक्षणमा प्राथमिकता दिने बताउनुभयो ।
त्यस्तै अध्यक्ष पदका अर्का उम्मेदवार डिल प्रसाद गैरेले विगत केही वर्षदेखि मनकामना सामुदायिक वनमा भएको चरम लापरवाही, लेखाप्रणालीको अपारदर्शिता, तथा लाभांश वितरणमा गरिएको विभेदको विरुद्ध आवाज उठाउँदै आउनुभएको छ ।
उहाँले आफूले लामो समयदेखि समिति सुधारको एजेण्डा उठाउँदै आएको र अब नेतृत्वमै पुगेर सुधार ल्याउने बेला आएको बताउनुभयो ।
स्थानीयवासीले पनि दुवै उम्मेदवारका एजेण्डालाई चासोका साथ हेरिरहेका छन् । मनकामना सामुदायिक वन कपिलवस्तु जिल्लाको एक प्रमुख सामुदायिक वन हो, जहाँ हजारौं उपभोक्ताहरू आबद्ध छन् ।
आगामी अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले वन व्यवस्थापन, वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वलाई कसरी अघि बढाउने हो भन्नेमा उपभोक्ताहरूको ध्यान केन्द्रित रहेको छ ।