Connect with us
Kapilvast Forest

कृष्णनगर नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

२०८२, २० जेष्ठ सोमबारमा प्रकाशित

सनिउल्ला धोबी- 

कपिलवस्तुको कृष्णनगर नगरपालिका अब पूर्णखोप सुनिश्चित नगरपालिका बनेको छ । नियमित खोप कार्यक्रमअन्तर्गत शतप्रतिशत लक्षित बालबालिकाले खोप सेवा प्राप्त गरेपछि सोमबार एक विशेष समारोहका बीच नगरपालिका सभाहलमा आयोजित कार्यक्रममा कृष्णनगरलाई “पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा” गरिएको हो ।

उक्त कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले घोषणा पत्र सार्वजनिक गर्दै कृष्णनगर नगरपालिकालाई पूर्णखोप नगरपालिका घोषणा गर्नुभएको हो ।
उहाँले कार्यक्रममा बोल्दै भन्नुभयो, “कपिलवस्तु जिल्लाका १० वटै स्थानीय तहमध्ये हालसम्म ८ वटा पालिकाले पूर्णखोप सुनिश्चितता घोषणा गरिसकेका छन् भने बाँकी रहेका दुई पालिकामा पनि चाँडै यो कार्यक्रम लागू गरिनेछ ।”

कार्यक्रममा बोल्दै कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले खोप अभियानलाई सफल बनाउन निरन्तर खटिने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, समुदायका अगुवा, अभिभावक र सरोकारवालाहरूको योगदानप्रति आभार प्रकट गर्नुभयो ।
उहाँले भन्नुभयो, “स्वास्थ्यकर्मीहरूले आफ्नो दिलोज्यान दिएर, कुनै कसर बाँकी नराखी नगरवासी बालबालिकालाई खोप कार्यक्रम अन्तर्गत समेट्न अहोरात्र खटिएका छन् । यो उपलब्धि उनीहरूको अथक मेहनतकै परिणाम हो ।”

नगरप्रमुख शाहले खोपको प्रभावकारिता र यसको आवश्यकतामाथि जोड दिँदै नगरपालिका आगामी दिनहरूमा पनि दिगो स्वास्थ्य प्रणालीका लागि प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रमका विशेष अवसरमा खोप अभियानमा सक्रिय योगदान दिने विभिन्न स्वास्थ्य चौकिका प्रमुख, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा समुदायस्तरका प्रतिनिधिहरूलाई नगरपालिकाको तर्फबाट प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । उनीहरूको समर्पण र निष्ठाले अभियान सफल भएको वक्ताहरूको भनाई रहेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख रमेश चौधरी, नगर उपप्रमुख आरती देवी चौधरी, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रतिनिधि मधुकर श्रेष्ठ, कृष्णनगर नगरपालिकाका सबै वडाका वडाध्यक्षहरू, स्थानीय समाजसेवी, पत्रकार, शिक्षक, अभिभावक लगायतको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

स्वास्थ्य सेवा पहुँचमा सुधार, जनचेतना अभिवृद्धि, स्वच्छ र सुरक्षित बाल भविष्य निर्माणतर्फ एक महत्वपूर्ण उपलब्धिको रूपमा कृष्णनगरको पूर्णखोप घोषणा गरिएको छ । यसले स्थानीय तहमार्फत नागरिकको जीवनस्तर सुधार्न सकिने ठोस उदाहरण प्रस्तुत गरेको कृष्णनगर नगरपालिकाले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu