Connect with us
Kapilvast Forest

जेठमा थपियो ३२ अर्ब ऋण

२०८२, ६ असार शुक्रबारमा प्रकाशित

काठमाडौं –

सरकारले जेठमा ३२ अर्ब रुपैयाँ सार्वजनिक ऋण लिएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार जेठ महिनमा ३२ अर्ब रुपैयाँ ऋण लिएको जनाएको छ।  यससँगै मुलुकले तिर्नुपर्ने कुल सार्वजनिक ऋण २६ खर्ब ५४ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ।

खर्च स्रोतका रूपमा सरकारले सार्वजनिक ऋण परिचालन गर्दछ। चालु आर्थिक वर्ष २०८१÷८२ को सुरुवातमा २४ खर्ब ३४ अर्ब रुपैयाँ सार्वजनिक ऋण रहेकामा ११ महिनासम्म दुई खर्ब २० अर्ब ५८ करोड रुपैयाँ ऋण थपिएको कार्यालयले जनाएको छ।

कुल सार्वजनिक ऋणमध्ये १३ खर्ब ८२ अर्ब रुपैयाँ वैदेशिक ऋण रहेको छ। त्यस्तै १२ खर्ब ७२ अर्ब रुपैयाँ आन्तरिक ऋणको दायित्व रहेको छ। वैदेशिक र आन्तरिक ऋणबाहेक विनिमय दरमा भएको वृद्धिका कारण नेपालले थप ७३ अर्ब रुपैयाँ नोक्सानी बेहोर्नुपर्ने देखिन्छ। उक्त रकमलाई कार्यालयले वैदेशिक ऋणकै दायित्वमा जोडेको छ।

साँवा र ब्याज भुक्तानीको रकम घटाएर कार्यालयले कुल सार्वजनिक ऋणको आकार तय गर्छ। ११ महिनासम्म सरकारले तीन खर्ब २९ अर्ब रुपैयाँ ऋणको साँवा तथा ब्याज भुक्तानी गरेको छ, जसलाई सार्वजनिक ऋण सेवा भन्ने गरिन्छ।

जसमध्ये आन्तरिक ऋणबापत साँवा र ब्याज गरेर सरकारले तीन खर्ब ३६ अर्ब ९५ करोड रुपैयाँ भुक्तानी गरेको छ। त्यसमा पनि दुई खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ साँवा र बाँकी ब्याज भुक्तानी रहेको छ। वैदेशिक ऋणबापत सरकारले समीक्षा अवधिमा ६५ अर्ब ८९ करोड रुपैयाँ भुक्तानी गरेको छ। जसमध्ये साँवा ५३ अर्ब ९४ करोड ब्याज ११ अर्ब ९५ करोड रुपैयाँ रहेको छ।

आन्तरिक ऋणको भुक्तानी अवधि छोटो हुने भएकाले यस शीर्षकमा गर्नुपर्ने भुक्तानी दायित्व बढी हुन्छ। अधिकांश वैदेशिक ऋणको भुक्तान अवधि लामो समयसम्म हुने भएकाले त्यसको भुक्तानी चाप सरकारलाई कम पर्छ। नेपालले धेरै जसो २० वर्षभन्दा माथि अवधिका वैदेशिक ऋण परिचालन गरिरहेको छ।

चालु आवमा सरकारले पाँच खर्ब ४७ अर्ब रुपैयाँ ऋण लिने लक्ष्य बजेटमा राखेको थियो। जसमध्ये ११ महिनासम्म चार खर्ब १४ अर्ब १९ करोड रुपैयाँ ऋण प्राप्त भएको कार्यालयले जनाएको छ। जसमध्ये तीन खर्ब १४ अर्ब आन्तरिक र ९९ अर्ब २० करोड वैदेशिक ऋण प्राप्त भएको छ।

चालु आवको ऋण परिचालनको लक्ष्यमध्ये सरकारले ९५ प्रतिशत आन्तरिक ऋण उठाइसकेको छ। वैदेशिक ऋण भने लक्ष्यको ४६ प्रतिशत मात्र उठेको कार्यालयको तथ्याङ्क छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu