Connect with us
Kapilvast Forest

प्रतिनिधिसभामा आज १० वटा मन्त्रालयको बजेट प्रस्तावमाथि छलफल

२०८२, ७ असार शनिबारमा प्रकाशित

काठमाडौँ –

सरकारले गत जेठ १५ गते संसदमा प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०८२’ माथिको छलफल जारी छ। शनिबारको बैठकमा १० वटा मन्त्रालयको बजेट प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वार्षिक विनियोजन माथि छलफल हुनेछ । त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट प्रस्ताव माथि छलफल हुने कार्यसूची छ ।

त्यस्तै, विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पनि आजको बैठकमा प्रस्तुत हुनेछ। जसमा सांसद डा अमरेशकुमार सिंहले विनियोजन विधेयक, २०८२ अन्तर्गत संघीय मामिला, ऊर्जा, रक्षा, स्वास्थ्य, शिक्षा, परराष्ट्र, श्रम, गृह र सञ्चार मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाएर एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

त्यस्तै, सांसद प्रेम सुवालले पनि विनियोजन विधेयक, २०८२ अन्तर्गत सङ्घीय मामिला, ऊर्जा, रक्षा, स्वास्थ्य, खानेपानी, शिक्षा, परराष्ट्र, श्रम, गृह र सञ्चार मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

संसद् सचिवालयका अनुसार सांसद अमनलाल मोदीले विनियोजन विधेयक, २०८२ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाइ रू एक कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यस्तै, सांसद प्रभु साहले ऊर्जा, स्वास्थ्य र खानेपानी मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

सांसद माधव सापकोटाले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय शीर्षकको खर्च रकममा  १०० रुपैयाँ  घटाइयोस् भन्ने प्रस्ताव र सांसद रणेन्द्र बरालीले रक्षा मन्त्रालय शीर्षकको खर्च रकममा १०० रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यसैगरी, सांसद ज्ञानु बस्नेत सुवेदीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शीर्षकको खर्च रकममा १०० रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव र सांसद उर्मिला माझीले खानेपानी मन्त्रालयको शीर्षकको खर्च रकममा घटाइ एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। सांसद हितबहादुर तामाङले शिक्षा मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

आजको बैठकमा सांसद अम्मरबहादुर थापाले विनियोजन विधेयक, २०८२ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शीर्षकको खर्च रकममा १०० रुपैयाँ  घटाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

त्यस्तै, सांसद छिरिङ ल्हामुलामा तामाङले परराष्ट्र मन्त्रालय र नारायणी शर्माले श्रम मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै सांसद चित्र बहादुर केसीले विनियोजन विधेयक, २०८२ अन्तर्गत गृह मन्त्रालयको शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने  र सांसद गृह मन्त्रालय शीर्षकको खर्च रकममा १०० रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu