Connect with us
Kapilvast Forest

चार दिनमै भासियो ८३ लाखको झुलुङ्गे पुलको सिडी

२०८२, ७ असार शनिबारमा प्रकाशित

न्युजसेन्टर नेपाल  ।

कपिलवस्तुको सेमरी गाउँको बेलनदीमा निर्माण गरिएको ८३ लाख रुपैयाँ लागतको झुलुङ्गे पुलको सिडी चार दिनमै भासिएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–११ मा निर्माण सम्पन्न भई हालै मात्र उद्घाटन गरिएको उक्त पुलको संरचना सामान्य वर्षापछि नै बिग्रिएपछि स्थानीयबासी आक्रोशित बनेका छन् ।

झुलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष रामबरन यादवका अनुसार हालैको पानीसँगै पुलको दुबै छेउको माटो भासिएको र त्यसकै कारण सिडी भासिएको हो । “पानीले माटो बगायो र त्यसपछि सिडी पनि खस्न पुग्यो,” यादवले भने, “हामीले समयमै डाइभर्शन नगर्दा यस्तो अवस्था आयो, अब सच्याउने काम भइरहेको छ ।”

चार दिनअघि मात्र नगर प्रमुख अजय थापा, उपप्रमुख शिवकुमारी थारु, पूर्व नगर प्रमुख नेत्रराज अधिकारी, वडा अध्यक्ष, इन्जिनियर लगायतको दलबलको टोली बीच उक्त पुलको उद्घाटन गरेका थिए । तर उद्घाटनपछिको केही दिनमै पुलको सिडी भासिएपछि सबै तहबाट निर्माणको गुणस्तरप्रति प्रश्न उठिरहेको छ ।

स्थानीयबासी बृजनारायण चौधरी भन्छन्, “चार दिनमै पुलको यस्तो हालत भयो भने ८३ लाख कहाँ खर्च भयो ? कसरी काम गरियो ? यो सरासर लापरबाही हो ।” अर्का स्थानीय सन्तोष गुप्ता भन्छन्, “फोटो खिच्न उद्घाटन गरियो, अब तस्बिर होइन जवाफ चाहिन्छ ।”

पुल निर्माणमा उपभोक्ता समिति, इन्जिनियर र नगरपालिका कार्यालयको समेत निगरानी रहेको भएपनि सामान्य वर्षाले नै पुलको भौतिक संरचनामा क्षति पुर्‍याउनु यसैबाट निर्माणको गुणस्तर कमजोर भएको देखिन्छ । सामाजिक सञ्जालदेखि गाउँघरसम्म पुलको सिडी भासिएको खबरले आलोचना निम्त्याइरहेको छ ।

अब तत्काल मर्मत गर्न स्थानीयले माग गरेका छन् । अन्यथा आगामी दिनमा अझ ठूलो दुर्घटना हुने खतरा रहेको स्थानीयको भनाइ छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu