Connect with us
Kapilvast Forest

“वृक्षारोपणले समाजमा सकारात्मक सन्देश दिन्छ” : सांसद केसी

२०८२, १४ असार शनिबारमा प्रकाशित

सगरमाथा वृक्षारोपण महाभियान अन्तर्गत चन्द्रौटामा एक हजार फलफूलका बिरुवा रोपियो ।।

सनिउल्ला धोबी- कपिलवस्तु

“वातावरणीय संकट बढ्दै गएको वर्तमान अवस्थामा वृक्षारोपण केवल औपचारिक कार्यक्रम होइन, यो सामाजिक जिम्मेवारी हो । वृक्षारोपणले वातावरणलाई हराभरा मात्र बनाउँदैन, यसले समाजमा सकारात्मक सन्देश पनि दिन्छ,” यो भनाई लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व वन तथा वातावरण मन्त्री अर्जुन कुमार केसीको हो ।

“राष्ट्रिय वृक्षारोपण दिवस २०८२” को अवसर पारेर सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय, चन्द्रौटाको परिसरमा आयोजित वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद केसीले वृक्ष रोपेर मात्र होइन विरुवाको संरक्षणमा पनि जोड दिनुपर्ने बताउनुभयो ।

पुर्वमन्त्री केसीका अनुसार सरकार, सुरक्षा निकाय र नागरिक समाजले वृक्षारोपणजस्ता अभियानमा हातेमालो गरेर अघि बढेमा वातावरणीय संकट न्यूनीकरणमा सहयोग पुग्नेछ ।

“राष्ट्रिय वृक्षारोपण दिवस २०८२” को अवसर पारेर सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय, चन्द्रौटाको परिसरमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रम सगरमाथा वृक्षारोपण महाभियानअन्तर्गत डिभिजन वन कार्यालय कपिलवस्तु (गौतमबुद्ध) चन्द्रौटाको संयोजनमा सम्पन्न भएको हो ।

कार्यक्रममा एक हजार बढी फलफूलका बिरुवा (जस्तै आँप, कागती, अम्बा, लिची, आदि) रोपिएको डिभिजन वन कार्यालयका प्रमुख राजु क्षेत्रीले जानकारी दिनुभयो ।

वन डिभिजन प्रमुख केसीका अनुसार वातावरणीय सन्तुलन कायम गर्ने लक्ष्यका साथ जिल्लामा वृक्षारोपण महाभियान सञ्चालन गरिएको हो। “हाम्रो उद्देश्य बिरुवा रोप्ने मात्र होइन, पाँच वर्षसम्म हुर्किने वातावरण बनाउने पनि हो,” उहाँले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यवासिनी बाहिनीका प्रमुख, सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिपेन्द्र कुवरले नेतृत्व गर्नुभयो ।

उहाँले सशस्त्र प्रहरी बलले आफ्नो संरक्षित क्षेत्रभित्र मात्र होइन, समुदायसँग सहकार्य गर्दै सार्वजनिक स्थलमा समेत वृक्षारोपण गर्दै आएको बताउनुभयो ।

“हामी सुरक्षामा मात्रै होइन, समाज र वातावरणमा पनि संवेदनशील छौं,” डीआईजी कुवरले भन्नुभयो। “वन कार्यालयसँग सहकार्य गर्दै वृक्षारोपण महाभियानलाई निरन्तरता दिनेछौं,” उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
वृक्षरोपण कार्यक्रममा कपिलवस्तु साझेदारी वन व्यवस्थापन समूहका अध्यक्ष गणेशनाथ तिवारी, शिवराज साहेदारी वन व्यवस्थापन समूहका अध्यक्ष हरिप्रसाद पोख्रेल, रहतावल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष यज्ञबहादुर बेलबासे, चेतनशील सामुदायिक वनभोक्ता समूहका अध्यक्ष रामपाल चौधरी, सशस्त्र प्रहरीका विभिन्न दर्जाका अधिकृत तथा जवानहरू, डिभिजन वन कार्यालयका कर्मचारी, जनप्रतिनिधि, पत्रकार, र स्थानिय समुदायका प्रतिनिधिहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले वृक्षारोपण गरेर वातावरणीय उत्तरदायित्वमा आफूहरूको योगदान पुर्‍याएको महसुस भएको बताएका थिए ।

कार्यक्रममा बोल्दै चन्द्रौटा नगरपालिका–५ का वडाध्यक्ष नेत्र बेल्बासेले स्थानीय सरकार पनि यस्ता अभियानमा साथ दिन तयार रहेको बताउनुभयो । “नगरपालिकाले शिक्षा, स्वास्थ्य जस्तै वातावरणलाई पनि प्राथमिकतामा राखेको छ,” उहाँले भन्नुभयो ।

कार्यक्रममा डिभिजन वन कार्यालयका वन अधिकृतहरूले बिरुवा रोप्ने तरिका, रोपिएपछि संरक्षणका उपायहरूबारे संक्षिप्त जानकारी समेत दिएका थिए ।

सगरमाथा वृक्षारोपण महाभियान देशभर सञ्चालन भइरहेका वातावरणमैत्री कार्यक्रममध्ये एक हो, जसमा सरकारी तथा गैरसरकारी निकायहरूको सहकार्यमा वृक्षारोपणलाई संस्थागत बनाउने प्रयास भइरहेको छ । यस अभियानको उद्देश्य वर्षा जल संचित गर्ने, हरित क्षेत्र विस्तार गर्ने, जैविक विविधता जोगाउने र जलवायु परिवर्तनसँग जुझ्न दीर्घकालीन तयारी गर्नु हो ।

स्थानीयहरूले पनि यो अभियानको स्वागत गरेका छन्। “हामीले पहिले पनि सरकारी जग्गामा रोपिएका बिरुवाहरू सुकिरहेका देखेका थियौं, तर यसपटक डिभिजन वन कार्यालयले स्थानीय सहभागिता सुनिश्चित गरेकाले यो प्रयास सफल हुनेछ भन्ने आशा छ,” स्थानिय शिक्षक मनोज यादवले प्रतिक्रिया दिनुभयो।

यसैबीच, आयोजक डिभिजन वन कार्यालय कपिलवस्तुले आगामी दिनमा जिल्लाका विभिन्न सामुदायिक वन, विद्यालय, सरकारी कार्यालय र खोलाको किनारमा समेत वृक्षारोपण कार्यक्रम विस्तार गर्ने योजना रहेको जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu