जसपा लुम्बिनी प्रदेश अध्यक्षमा पठान निर्विरोध निर्वाचित
न्युजसेन्टर नेपाल-
कपिलवस्तु- जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश समितिको नेतृत्वमा अकरम पठान निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार कपिलवस्तुको चन्द्रौटा स्थित लुम्बिनी ग्रीन रिसोर्टमा सम्पन्न भेलाले पठानको अध्यक्षतामा ४९ सदस्यीय नयाँ प्रदेश समिति सर्वसम्मतरूपमा गठन गरेको हो ।
नवगठित समितिमा उपाध्यक्षमा नेत्र बहादुर थापा, मोहम्मद असलम अन्सारी र लालिमा मल्ल चयन भएका छन् । मुख्यसचिवमा विवेक चन्द्र मिश्र, सचिवमा सुनिल पाठक र सुमित्रा नेपाली तथा कोषाध्यक्षमा मोहम्मद कादरीले जिम्मेवारी पाउनुभएको छ ।

समितिको घोषणा सभालाई सम्बोधन गर्दै जसपाका केन्द्रीय अध्यक्ष अशोक कुमार राईले आगामी चुनावमा सुशासनलाई मुख्य एजेन्डा बनाउँदै जसपा, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी एकीकृत रूपमा ‘जातो’ चुनाव चिन्ह लिएर जाने निर्णयलाई संस्थागत गरिएको जानकारी दिनुभयो । साथै जेन–जी आन्दोलनको भावना समेटिएको घोषणापत्र सार्वजनिक गर्ने तयारी भइरहेको पनि बताउनु भयो ।
निर्विरोध अध्यक्ष बनेका अकरम पठानले युवा पुस्ताको अपेक्षाअनुसार सुशासन, पारदर्शिता र जवाफदेहितालाई केन्द्रमा राखेर संगठनलाई नयाँ राजनीतिक दिशामा अघि बढाइने बताए । उनले सहभागितामूलक निर्णय प्रक्रिया, डिजिटल पारदर्शिता र जनतासँग प्रत्यक्ष अन्तरक्रिया मार्फत पार्टीलाई सशक्त बनाउने प्रतिवद्धता जनाउनुभयो ।
जसपा लुम्बिनी प्रदेश समितिले प्रदेशभरि संगठन सुदृढ गर्दै सुशासन, सेवा–सुविधाको पहुँच सुधार र नागरिक–सहभागी राजनीतिक संस्कृतिलाई मजबुत बनाउने अभियानलाई प्राथमिकता दिइने जनाएको छ । पार्टीले आगामी राजनीतिक यात्रा युवाकै नेतृत्व र भूमिकामा केन्द्रित हुने स्पष्ट पारेको छ ।
नवगठित कार्यसमितिको नामावली
