राजीनामा माग गरिएका मन्त्री गुप्तालाई सरकारले नै दियो अमेरिका जाने अनुमति
सरकारका केही मन्त्री राजनीतिक गतिविधिमा संलग्न रहेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीले उनीहरूलाई ‘राजीनामा दिन’ भनेकी थिइन्। तर, राजनीतिमा सक्रिय भएर लागेका खेलकुलमन्त्री गुप्तालाई प्रधानमन्त्री कार्कीकै अध्यक्षतामा बसेको बैठकले ‘अमेरिका घुम्न’ अनुमति दिएको हो।
यद्यपि मन्त्री गुप्ताको सचिवालयले भने अझै जाने नजानेबारे टुंगो भइनसकेको बताएको छ। सचिवालयले भिसाका लागि मन्त्रीले अझै आवेदन नदिएको दाबी गरेको छ।
उनी बालेनको कोटाबाट मन्त्री बनेका हुन्। बालेनको समूह रास्वपामा समाहित भएपछि उनले सक्रिय राजनीति गर्दै आएका छन्।मन्त्री गुप्ता बालेन र रवि लामिछानेलाई मिलाउने भूमिकामा सक्रिय बनेका थिए भने कुलमान घिसिङको उज्यालो नेपाललाई पनि रास्वपामा विलिन गराउने भूमिकामा पनि थिए।
जेनजी आन्दोलनपछि बनेको निर्दलीय सरकारमा राजनीतिक व्यक्ति सरकारमा सहभागी भएको भन्दै युवा असन्तुष्ट छन्। रास्वपाको उपसभापति पाउने गरी रास्वपामा समाहित भएका उज्यालो नेपालका संरक्षक घिसिङले भने गएराति राजीनामा दिएका छन्।कुलमानको राजीनामापछि मन्त्री गुप्तासहित सरकारका प्रवक्ता जगदीश खरेलमाथि पनि राजीनामाको दबाब बढेको छ।