Connect with us
Kapilvast Forest

सामाजिक सञ्जालको दुरुपयोगले सुरक्षा चुनौती थपिएको निष्कर्ष

२०८२, २५ माघ शनिबारमा प्रकाशित

निर्वाचनको मिति नजिकिँदै गर्दा सामाजिक सञ्जालको दुरुपयोग बढेको र यसले सुरक्षा चुनौती थपिएको निष्कर्ष केन्द्रीय सुरक्षा समितिले निकालेको छ । शुक्रबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरीले सञ्चालनमा ल्याएको अत्याधुनिक युनिटलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।

खासगरी भ्रमपूर्ण सामग्री सामाजिक सञ्जालमा राखेर दुष्प्रचार भइरहेको र निर्वाचन नजिकिँदै गर्दा झनै बढ्न सक्ने भएकाले यसतर्फ प्रहरीले विशेष सक्रियता देखाउनुपर्ने बैठकमा औँल्याइएको छ ।

त्यस्तै, बैठकले निर्वाचनमा ड्रोनको प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । ड्रोनका कारण सुरक्षा चुनौती बढ्ने भएकाले प्रतिबन्ध लगाउने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए । त्यस्तै, सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान गरी आवश्यक व्यवस्था गर्ने, निर्वाचन आचारसंहिताको उल्लंघन हुने गरी मिथ्या–भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्नेलगायतका निर्णय गरेको प्रवक्ता काफ्लेले जानकारी दिए । हिमाली क्षेत्रको मौसमको चुनौतीबारे पनि बैठकमा छलफल भएको एक सहभागीले बताए । जसमा वैकल्पिक मतदान केन्द्रको विषयमा तयारी गर्नसमेत निर्देशन दिइएको छ ।

गृहमन्त्री अर्यालले आसन्न प्रतिनिधिसभा निर्वाचनमा सुरक्षा तयारीबारे ब्रिफिङ लिँदै जोखिम आकलन गरी सुरक्षा व्यवस्था चुस्त राख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका थिए । विगतका बैठकले गरेका निर्णय कार्यान्वयनको अवस्थाको समीक्षा गर्दै निर्वाचन नजिकिँदै गर्दा आउन सक्ने थप सुरक्षा चुनौतीलाई चिर्न अवलम्बन गरिनुपर्ने रणनीतिबारे समेत मार्गदिशा तय गरेको प्रवक्ता काफ्लेले बताए ।

गृह मन्त्रालय र रक्षा मन्त्रालयका सचिव, चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि रहने केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनलाई लक्षित गरी कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ बमोजिम जिम्मेवार निकायहरूले सम्पादन गरिरहेका कार्यहरू, जनशक्ति परिचालन तथा बन्दोबस्तीको योजनाबारे समीक्षा गरेको थियो । बैठकले निर्वाचनमा खटिएका सुरक्षाकर्मी र निर्वाचन प्रहरीको बिमा गर्ने निर्णय गरेको छ ।

वर्षमान र स्वर्णिमको उजुरीमा छानबिन जारी
सामाजिक सञ्जालमा मिथ्या सामग्रीको दुष्प्रचार भएपछि दुई उम्मेदवारले प्रहरीमा उजुरी दिएका छन् । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा रोल्पाका उम्मेदवार वर्षमान पुन र राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति रहेका तनहुँ १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले उजुरी दिएका हुन् । धर्मसँग जोडेर वाग्लेको विषयमा सामाजिक सञ्जालमा प्रचार गरिएको भन्दै उनले उजुरी दिएका हुन् । त्यस्तै, नक्कली घोषणापत्र बनाएर प्रचार गरेपछि पुनले उजुरी गरेका हुन् । दुवै उम्मेदवारको उजुरीमा छानबिन भइरहेको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले बताए ।

उता निर्वाचन आचारसंहिताको उल्लंघनकै आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । काठमाडौं प्रहरीले उनलाई शुक्रबार दिउँसो चाल्नाखेलबाट पक्राउ गरेको हो । निर्वाचन आयोगबाट आएको पत्रका आधारमा उनलाई पक्राउ गरी साइबर अपराधको कसुरमा कारबाही अघि बढाइएको ब्युरोका एसपी अवस्थीले बताए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu