Connect with us
Kapilvast Forest

राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले बिदाइ सम्बोधन गर्ने

२०८२, २६ माघ आईतवारमा प्रकाशित

काठमाडौं –

राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले बिदाइ सम्बोधन गर्ने भएका छन् । फागुन २० मा कार्यकाल सकिएर बिदा हुन लागेका सांसदहरू सोमबारबाट बिदाइ सम्बोधन गर्न लागेका हुन् ।राष्ट्रिय सभाको अधिवेशन माघ ४ गतेबाट सुरु भएको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएकाले राष्ट्रियसभाको अधिवेशन अन्त्यको तयारी भइरहेको छ ।

यसैक्रममा सोमबार बैठक बस्दैछ । सोही बैठकमा बिदाइ हुनलागेका सांसदले संसद्मा अनुभुति राख्ने कार्यसूची तय भएको छ । सोमबारको बैठकमा अनुभुति राख्नेक्रम नसकिए यही माघ २८ गते बस्ने बैठकमा समेत निरन्तरता पाउनेछ । अर्को बैठक आगामी फागुन १ गतेका लागि राखिएको छ ।संसद् सचिवालयका अधिकारीहरूका अनुसार सरकारले तय भएको भन्दा थप बैठक नराख्ने गरी व्यवस्थापन गर्न सरकारले सन्देश पठाएको छ । त्यसअनुसार संसद सचिवालयले कार्यसूची तय गरेको हो ।

यसपटक कार्यकाल सकिएर यसपटक १९ जना बिदा हुन लागेका छन् । त्यसमध्ये १८ जना निर्वाचित भएका हुन् भने एक जना मनोनीत सांसद हुन् । मनोनीत सांसद वामदेव गौतमले राजीनामा दिइसकेका छन् । यस्तै सांसदद्वय नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार भएका छन् । बाँकी १६ जना सांसद बैठकमा आफ्ना अनुभूति राख्नेछन् ।

२१ फागुनमा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । राष्ट्रिय सभा सदस्यहरू राष्ट्रपतिबाट मनोनीतबाहेक कुनै न कुनै राजनीतिक दलसँग आवद्ध छन् । उनीहरू प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीको प्रचारमा सहभागी हुनेछन् । यसकारण स्वयं राष्ट्रिय सभा सदस्यहरूले समेत अधिवेशन लम्बयाउन नहुने मत राख्दै आएका छन् ।संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार राष्ट्रिय सभाको अधिवेशन अन्त्यको विषयमा सरकारले संसद् सचिवालयका अधिकारीहरूसँग परामर्शसमेत गरेको छ ।

‘प्रतिनिधिसभाको चुनाव आइसक्यो । राष्ट्रिय सभा सदस्य पनि राजनीतिक दलका प्रतिनिधि हुन् । आम निर्वाचन भन्ने छ । यो बेला माथिल्लो सदन चलाइरख्नु उचित देखिन्न । कार्यभार पनि तत्काल सम्पन्न गरिहाल्नुपर्ने अवस्थाका पनि छैनन्’, प्रवक्ता गिरीले भने, ‘यो विषयमा सरकारसँग अनौपचारिक छलफल भएको छ ।’प्रतिनिधिसभा सदस्यको निर्वाचन भएसँगै प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन एकसाथ सुरु हुनेछ । सरकारले संसद् सचिवालयलाई आगामी चैत १ गतेदेखि नयाँ संसद्को अधिवेशन राख्ने तयारी गरेको छ । त्यसअनुसार व्यवस्थापन गर्न संसद् सचिवालयलाई सन्देश दिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu