कपिलवस्तुमा उदाउदैं गरेको अनुहार: मिर्जा राशिद वेग
न्युजसेन्टर नेपाल –
कपिलवस्तु क्षेत्र नम्बर ३ को यसपटकको राजनीतिक माहोलमा सबैभन्दा बढी चर्चा कमाइरहेका नाम हुन् मिर्जा राशिद वेग। लामो समयदेखि सामाजिक अभियन्ताका रूपमा सक्रिय रहेका वेग अहिले राष्ट्रिय स्वतन्त्र पार्टी को अभियानमार्फत नयाँ राजनीतिक विकल्पको प्रतिनिधित्व गर्दै अग्रपंक्तिमा देखिएका छन्।
कपिलवस्तु क्षेत्र नम्बर ३ का सक्रिय युवा नेता मिर्जा राशिद वेगको नाम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीमा परेको छ। यससँगै उनी संघीय संसदमा प्रवेश गर्ने सम्भावित अनुहारका रूपमा थप चर्चामा आएका छन्।
कपिलवस्तु क्षेत्र नम्बर ३ मा यसपटकको चुनावी माहोलमा नयाँ ऊर्जा थपिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार बनेका प्रकाश रजौरिया र समानुपातिक सूचीमा रहेका मिर्जा राशिद वेग सँगै मैदानमा उत्रिएर घण्टी चुनाव चिन्हमा भोट मागिरहेका छन्।
घण्टी चिन्हसहित घरदैलो, कोणसभा र युवा भेटघाट कार्यक्रमलाई तीव्र बनाइएको छ। प्रत्यक्षतर्फ रजौरियाको उम्मेदवारीलाई बलियो बनाउन वेग स्वयं अग्रसर देखिएका छन् भने वेगको समानुपातिक सम्भावनालाई पनि रजौरियाले खुलेर समर्थन गरिरहेका छन्।
दुवै नेताले “सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त कपिलवस्तु” लाई मुख्य एजेन्डा बनाएका छन्। विकास निर्माणमा देखिएको ढिलासुस्ती, बेरोजगारी समस्या र सेवा प्रवाहमा सुधार ल्याउने प्रतिबद्धता उनीहरूले दोहोर्याउँदै आएका छन्।
सामाजिक अभियन्ताबाट वैकल्पिक राजनीतिको नेतृत्वतर्फ
कृष्णनगर क्षेत्रमा सहयोगी र सहज स्वभावका नेताका रूपमा परिचित वेगले आफ्नो पहिचान केवल दलगत राजनीतिमा सीमित राखेनन्।
आपतकालीन सहयोग, शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा पहल, युवाहरूको परिचालन र जनसहभागितामूलक गतिविधिमार्फत उनले जनस्तरमा विश्वास निर्माण गरेका छन्।
उनको मूल नारो छ — “राजनीति पेशा होइन, सेवा हुनुपर्छ।” यही सोचका कारण उनी युवामाझ विशेष लोकप्रिय बन्दै गएका छन्।
एमालेबाट वैकल्पिक धारतर्फ
कुनै समय नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सक्रिय युवा नेता रहेका वेगले संगठन निर्माण र युवा परिचालनमा भूमिका खेलेका थिए। तर पछिल्लो समय उनले परम्परागत राजनीतिक अभ्यासप्रति असन्तुष्टि जनाउँदै वैकल्पिक धार रोजे।
गत निर्वाचनमा प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिँदा बलियो संगठन संरचना नभए पनि उनले उल्लेखनीय मत प्राप्त गरेका थिए। त्यो परिणामले उनलाई क्षेत्रीय राजनीतिमा बलियो दाबेदारका रूपमा स्थापित गराएको विश्लेषण गरिन्छ।
युवाको भरोसा, संगठन विस्तारको अभियान
देशभर राष्ट्रिय स्वतन्त्र पार्टी को प्रभाव बढिरहेका बेला कपिलवस्तु–३ मा पनि त्यसको सकारात्मक असर देखिएको छ। वेगले हजारौँ युवालाई पार्टीमा आबद्ध गराउँदै संगठन विस्तार अभियानलाई तीव्रता दिएका छन्।
स्थानीय तहमा प्रभावशाली व्यक्तित्वलाई साथमा लिएर अघि बढ्ने रणनीतिअन्तर्गत उनले राष्ट्रिय प्रजातन्त्र पार्टी का नेता प्रकाश रजौरियालाई पनि पार्टी प्रवेश गराएर नयाँ समीकरण निर्माणको संकेत दिएका छन्। यसले परम्परागत शक्तिहरूलाई चुनौती दिने आधार तयार भएको आकलन गरिएको छ।
सुशासन र पारदर्शिताको एजेन्डा
वेगले सुशासन, पारदर्शिता, जवाफदेहिता र जनसहभागितालाई मुख्य एजेन्डा बनाएका छन्। विकास निर्माणमा देखिएको ढिलासुस्ती, बेरोजगारी समस्या र सेवा प्रवाहमा रहेको कमजोरीलाई सुधार गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
विशेषगरी वैदेशिक रोजगारीबाट फर्किएका युवाहरू र परिवर्तन खोजिरहेका मतदाताले वैकल्पिक शक्तिलाई अवसर दिनुपर्ने आवाज उठाइरहेका बेला वेगको अभियानले नयाँ ऊर्जा ल्याएको देखिन्छ।
समानुपातिक र प्रत्यक्ष—दुवैतर्फ सम्भावना
समानुपातिक सूचीमा उनको नाम शीर्ष प्राथमिकतामा रहेको चर्चा छ भने प्रत्यक्षतर्फ पनि प्रतिस्पर्धात्मक स्थिति देखिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार यदि युवापंक्ति एकजुट भयो भने यसपटक कपिलवस्तु–३ मा परिणाम फरक आउन सक्ने सम्भावना बलियो छ।
चुनावी परिणाम जे आए पनि मिर्जा राशिद वेगले कपिलवस्तु–३ को राजनीतिमा आफूलाई बलियो दाबेदारका रूपमा स्थापित गरिसकेको आकलन गरिएको छ। सुशासन र भ्रष्टाचारमुक्त कपिलवस्तुको नारासहित अघि बढेको उनको अभियान अहिले चर्चाको केन्द्रमा छ।