कोलम्बियामा सैनिक विमान दुर्घटना हुँदा कम्तीमा ६६ जनाको मृत्यु
काठमाडौं । कोलम्बियामा सैनिक विमान दुर्घटना हुँदा कम्तीमा ६६ जनाको मृत्यु भएको छ।
उडानको केही समयमै कोलम्बियाको दक्षिणी क्षेत्रमा पेरु र इक्वेडरको सीमानजिकै ‘हर्कुलस सी–१३०’ विमान दुर्घटना भएको थियो।
गएराति भएको यो दुर्घटनामा दर्जनौँ सैनिक घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि राजधानी बोगोटा र नजिकैका अस्पताल लगिएको छ।
कोलम्बियाली वायु सेनाका कमान्डर कार्लोस फर्नान्डो सिल्भाका अनुसार विमानमा १ सय १४ सैनिक र ११ चालकदलका सदस्य सवार थिए। विमानले सैनिकहरू स्थानान्तरण गर्दै थियो।
कोलम्बियाका रक्षामन्त्री पेड्रो सान्चेजले घटनालाई देशका लागि दुखदायी भएको बताएका छन् । उनका अनुसार विमानमा आगलागी हुँदा सेनाका गोला बारुद पड्केर घटना भयावह भएको हो। विमान उडेर करिब डेढ किलोमिटर पर पुग्नासाथ दुर्घटनाग्रस्त भएको थियो।