वडाअध्यक्ष भुसालद्वारा शितगंगाको राजस्व चोरी
कपिलवस्तु–
अर्घाखाँचीको शितगंगा नगरपालिकाको भावि मेयर भन्दै दाबी गर्ने वडा नं. ११ का वडा अध्यक्ष नवराज भुसाल आफैले पालिकाको राजस्व चोरी गरेका छन् ।
आफ्नै वडामा रहेको आफ्नो जग्गाबाट उनले अवैध रुपमा माटो उत्खनन् गरि बेचेको र पालिकालाई राजस्व समेत नतिरेको भेटिएको छ । एमालेबाट निर्वाचित वडा अध्यक्ष भुसालले शितगंगा ११ टिक्करी क्षेत्रबाट करिब ४ हजार घनमिटर माटो अवैध रुपमा निकासी गरि बेचेका छन् ।
उनले आफ्नी आमाको नाममा रहेको कित्ता नं. २४ मा रहेको जग्गाबाट माटो तथा ढुंगा निकालेर बेचेको तर पालिका संग कुनै सम्झौता तथा कार्यादेश नलिएको भन्दै नगरपालिकाले फागुन १७ गते काम रोक्न र चैत २७ गते ४ लाख ५० हजार छली गरेको राजस्व तत्काल बुझाउने पत्राचार गरेको छ ।
आफु नै वडा अध्यक्ष, आफ्नै सिफारिशमा आफुले नै माटो बेच्ने काम गरेको भुसालले पालिका संग सम्झौता त गरेनन् पालिकाले उत्खनन् काम रोक्न भनेर फागुन १७ गते पत्राचार गरेपनि अटेर गरि चैत २१ गते सम्म माटो विक्री गरिरहेका थिए । 
सरस्वती इट्टा उद्योगको नाममा बेचिएको माटो बुटवल–गोरुसिंगे सडक आयोजनामा विक्री गरेका भुसालले अचाक्ली गरेपछि स्थानीयको विरोध सुरु भएको थियो । हेभी गाडी आउदा पत्थरकोट–ढुङेसरा सडक खण्डको कल्र्भटहरु तथा सडक भासिएको भन्दै उजुरी परेपछि पालिकाको टोली आई काम रोकेको थियो । सो सडक खण्डका २ वटा कल्र्भट भत्किएका छन् ।
जनप्रतिनिधीको शक्ति र सत्ताको आडमा कर्मचारी मिलाएर भुसालले माटो र ढुंगा उत्खनन्का लागि पालिका समक्ष स्वीकृति माग गरेका थिए । लगत्तै पालिकाले नापजाँच गरि १५ हजार ५ सय २० घनमिटर माटो र ३ हजार ६ सय ९७ घनमिटर ढुंगा उत्खनन् तथा विक्री गर्नका लागि राजस्व तिरेर सम्झौता गर्न बोलाएको थियो ।
तर उनले पालिकालाई राजस्व नतिरी, सम्झौता नगरि, कार्यादेश नलिई धमाधम खानी उत्खनन् तथा विक्री गरेको शितगंगा नगरपालिकाले बताएको छ ।
“वडाअध्यक्षको आमाको नाममा पालिकाले पत्र काटेको छ, राजस्व नबुझाए सोहि बमोजिम कारवाही अघि बढाइन्छ,” प्रमुख प्रशासकिय अधिकृत कृष्ण सापकोटाले भने । यस सम्बन्धमा वडा अध्यक्ष भुसालले उक्त जग्गा आफ्नो नाममा नभएको र आफुलाई यसबारे कुनै जानकारी नभएको दाबी गरे । “माटो ठेकेदारले उत्खनन् गरेका हुन् राजस्वको कुरा पालिका र जग्गाधनीलाई सोध्नुस् यसबारे मेरो कुनै संलग्नता छैन” उनले भने ।
वडा अध्यक्ष भुसाल अवैध माटो, ढुंगा उत्खनन् कार्यमा मात्र नभई वडाका बजेट खर्च, सामुदायिक बनहरुको काठ विक्री तथा शितगंगा ११ अन्र्तगतको खयरभट्टी देखि कोन्द्रे नदी ठेक्कामा हुने अवैध गतिविधिमा समेत मिलेमतोको आरोपहरु लाग्ने गरेको छ ।