Connect with us
Kapilvast Forest

अन्धेरी हिल्फे र कालिकाले विजयनगरमा ल्याएको परिवर्तन

२०८३, १० जेष्ठ आईतवारमा प्रकाशित

सनिउल्ला धोबी-
कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं. २ जर्लहियाकी सकुन्तला कोरीको दैनिकी केही वर्षअघिसम्म घरायसी काममै सीमित थियो । बिहानदेखि बेलुकासम्म घरधन्दा र परिवारको जिम्मेवारीमा व्यस्त रहने सकुन्तला अहिले भने आफ्नै करेसाबारीमा व्यस्त देखिन्छिन् ।
बिहान सबेरै उठेर घरको सामान्य काम सकेपछि उनी आफ्नै बारीमा पुग्छिन् । त्यहाँ लगाइएको मौसमी तरकारी, हरियो सागसब्जी र खेतीपातीले अहिले उनको जीवनमा नयाँ उत्साह थपेको छ ।
“पहिला हामी बजारबाट किनेर मात्रै तरकारी खान्थ्यौं, अहिले आफ्नै बारीमा उत्पादन भएको ताजा तरकारी खान पाएका छौं,” सकुन्तलाले खुसी व्यक्त गर्दै भनिन्, “तरकारी बेचेर केही आम्दानी पनि हुन थालेको छ ।”
सकुन्तला मात्रै होइन, जर्लहियाका धेरै महिलाहरूको जीवनशैली अहिले फेरिएको छ । गाउँका महिलाहरू अहिले कुन मौसममा कुन तरकारी खेती गर्ने, पशुपालन कसरी गर्ने, समूह सञ्चालन, बचत तथा गाउँको विकास निर्माणका विषयमा समेत सक्रिय रूपमा छलफल गर्न थालेका छन् ।
जर्लहिया महिला कृषक समूहमा आबद्ध भएपछि महिलाहरूमा चेतना, आत्मविश्वास र सामाजिक सहभागिता बढेको सकुन्तला कोरी बताउँछिन् ।

खाद्य सुरक्षामा सामुदायिक रूपान्तरणका लागि पैरवी परियोजनामार्फत गाउँका महिलाहरूको जीवनस्तर सुधार हुँदै गएको लालपुर महिला कृषक समूहकी सचिव किरण यादवले बताइन् ।

उनका अनुसार अन्धेरी हिल्फे र कालिका स्वावलम्बन सामाजिक केन्द्रद्वारा सञ्चालित उक्त परियोजनाले विजयनगर गाउँपालिकाका १ हजार ८१ जना महिलाको दैनिकी परिवर्तन गर्न सफल भएको छ ।

“पहिला हामी घरायसी काममै सीमित थियौं । बाहिरी संसारको धेरै जानकारी थिएन,” किरण यादवले भनिन्, “तर अहिले परियोजना लागू भएपछि धेरै कुरा सिक्ने अवसर पाएका छौं । खेतीपातीदेखि गाउँको विकाससम्मका विषयमा हामीले खुलेर बोल्न थालेका छौं ।”
भगवती माता महिला कृषक समूहकी उपाध्यक्ष जोगमती मुराउले पनि परियोजनाले समुदायमा उल्लेखनीय परिवर्तन ल्याएको बताइन् ।

उनका अनुसार समूहका सदस्यहरूलाई मौसम अनुसारको तरकारीको बीउ वितरण गरिएको छ भने असल कृषि अभ्याससम्बन्धी कक्षामार्फत विषादीरहित अर्ग्यानिक खेतीमा जोड दिइएको छ ।

“हामीलाई झोलमल बनाउने, प्राङ्गारिक मल तयार गर्ने र कम लागतमा खेती गर्ने तरिका सिकाइएको छ,” मुराउले भनिन्, “यसले उत्पादन बढाउनुका साथै स्वास्थ्यमा पनि फाइदा पुगेको छ ।”
परियोजना अहिले विजयनगर गाउँपालिकाका सातवटै वडामा सञ्चालन भइरहेको छ । स्थानीय नागरिकहरूको जीवनस्तर उकास्ने उद्देश्यले कृषि, खाद्य सुरक्षा र महिला सशक्तीकरणका क्षेत्रमा काम भइरहेको छ ।

कालिका स्वावलम्बन सामाजिक केन्द्रकी परियोजना संयोजक सृजना पौडेलले महिलाहरूलाई प्राङ्गारिक खेतीतर्फ आकर्षित गर्न विशेष काम भइरहेको बताइन् ।
उनले भनिन्, “रासायनिक विषादीको प्रयोग कम गर्दै जैविक उत्पादनतर्फ महिलाहरूलाई प्रोत्साहन गरिएको छ । साथै महिला सशक्तीकरण र आयआर्जनका कार्यक्रमलाई पनि जोड दिएका छौं ।”

कालिका स्वावलम्बन सामाजिक केन्द्रका कार्यकारी निर्देशक रामेन्द्र सिंह रावलले विजयनगरका ५० जना भूमिहीन परिवारलाई पहिचान गरी १ सय वटा बाख्रा वितरण गरिएको जानकारी दिए ।

रावलका अनुसार स्थानीय नागरिकको दैनिकी आयसँग जोड्न सकिए मात्रै दीर्घकालीन परिवर्तन सम्भव हुने भएकाले आयमूलक कार्यक्रम सञ्चालन गरिएको हो ।

“हामीले यहाँका नागरिकलाई स्वरोजगार र आयआर्जनसँग जोड्ने प्रयास गरेका छौं,” रावलले भने, “यसले आर्थिक अवस्थामा सकारात्मक प्रभाव पार्ने विश्वास लिएका छौं ।”

सिँचाइ अभावका कारण खेती गर्न समस्या भोगिरहेका किसानहरूका लागि १८ वटा स्यालो ट्युबेल जडान गरिएको कालिकाका फोकल पर्सन अजय चौधरीले जानकारी दिए ।

“पहिले पानी अभावले खेती गर्न निकै कठिन थियो,” चौधरीले भने, “अब सिँचाइको पहुँच बढेसँगै उत्पादन पनि बढ्ने अपेक्षा गरेका छौं ।”

सामुदायिक रूपान्तरण सहजकर्ता दिपक भण्डारीका अनुसार पहिले घरबाहिर निस्किन हिच्किचाउने महिलाहरू अहिले आफ्ना अधिकारका लागि आवाज उठाउन थालेका छन् ।

“पहिले महिलाहरू बैठकमा बोल्न डराउँथे,” उनले भने, “अहिले उनीहरू वडा कार्यालयमा पुगेर बजेटका लागि प्रस्ताव पेश गर्ने अवस्थामा पुगेका छन् ।”

उनका अनुसार महिलाहरूले अब गाउँका समस्या पहिचान गरेर पालिकाको बजेट निर्माणअघि नै वडा कार्यालयमा योजना प्रस्ताव गर्न थालेका छन् । पोसिलो खाना प्रदर्शनी कार्यक्रम ३५ वटै समूहमा सम्पन्न भएको छ ।


गर्भवती सुत्केरी महिला र बालबालिकाको स्वास्थ्यमा पनि हेरचाह सम्बन्धि कार्यक्रम सन्चालन गरिएको परियोजनाको समुदाय परिवर्तनकर्ता सविता विश्वकर्माले बताउनुभयो ।

विजयनगर गाउँपालिकाका कृषि विकास अधिकृत प्रभु यादवले अन्धेरी हिल्फे र कालिकाको परियोजनाले राम्रो काम गरेको बताउनु भयो ।
परियोजनाले तालिम, सिचाई कार्य गरेको यादवले बताउनु भयो ।

अन्धेरी हिल्फे र कालिका स्वावलम्बन सामाजिक केन्द्रद्वारा सञ्चालित खाद्य सुरक्षामा सामुदायिक रूपान्तरणका लागि पैरवी परियोजनाअन्तर्गत विजयनगर गाउँपालिकाका सातवटै वडामा ३५ वटा महिला समूह गठन गरिएका छन् ।

स्थानीय नागरिकहरूका अनुसार उक्त परियोजनाले गाउँका महिलाहरूलाई आत्मनिर्भर, सचेत र सामाजिक रूपमा सक्रिय बनाएको छ । कृषि, पशुपालन, सिँचाइ, महिला सशक्तीकरण र आयआर्जनका कार्यक्रममार्फत विजयनगरमा सामाजिक परिवर्तनको सकारात्मक संकेत देखिन थालेको स्थानीयवासी बताउँछन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu