Connect with us
Kapilvast Forest

वनको संरक्षण, वैज्ञानिक व्यवस्थापन र सञ्चार क्षेत्रको भूमिकाबारे छलफल

२०८३, २७ असार शनिबारमा प्रकाशित

 

भुपाल थापा-

वैज्ञानिक र दिगो वन व्यवस्थापन मार्फत वन संरक्षणसँगै उपभोक्ताको आवश्यकता परिपूर्ति गर्न सरोकारवालाले जोड दिएका छन् । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको आयोजना तथा तिलौराकोट साझेदारी वन उपभोक्ता समूहको सहयोगमा बुद्धभूमि नगरपालिका–१० चेतरादेईमा आयोजित ‘वन व्यवस्थापन, अध्ययन, अनुसन्धान तथा संरक्षण सम्बन्धी अन्तक्र्रिया तथा वन क्षेत्रको अवलोकन भ्रमण’ कार्यक्रममा सहभागीहरूले वनको संरक्षण, वैज्ञानिक व्यवस्थापन र सञ्चार क्षेत्रको भूमिकाबारे छलफल गरेका हुन् ।

 

कार्यक्रमका प्रमुख अतिथि तथा साझेदारी वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष एवं तिलौराकोट साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष जयप्रकाश पाण्डेले वनको दिगो विकासका लागि वैज्ञानिक संवद्र्धन प्रणालीको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताउनुभयो । उहाँले वन विज्ञानका सिद्धान्तअनुसार वन व्यवस्थापन गर्न सके मात्रै आर्थिक प्रतिफल, सुशासन र वातावरणीय सन्तुलन कायम गर्न सकिने उल्लेख गर्दै आधुनिक प्रविधिको प्रयोग विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

 

डिभिजन वन कार्यालय कपिलवस्तुका वरिष्ठ वन अधिकृत यादव सापकोटा र चेतरादेई वन डिभिजनका प्रमुख दिपक केसी, मोतीराम पौडेल लगायतले वन व्यवस्थापनका प्राविधिक पक्ष, कानुनी व्यवस्था र कार्यान्वयन प्रक्रियाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । केसीले तिलौराकोट साझेदारी वनको संरचना, कार्ययोजना र वैज्ञानिक व्यवस्थापन प्रणालीबारे विस्तृत जानकारी दिनुभयो ।

 

तिलौराकोट साझेदारी वनको कुल क्षेत्रफल ६ हजार ५ सय ७४ दशमलव ८९ हेक्टर रहेको छ । यसमध्ये उत्तरी क्षेत्रमा ३ हजार ८ सय ८७ दशमलव ७८ हेक्टर र दक्षिणी क्षेत्रमा २ हजार ६ सय ८७ दशमलव ११ हेक्टर वन क्षेत्र रहेको छ । वन व्यवस्थापनलाई प्रभावकारी बनाउन वनलाई ६ वटा ब्लक र २३ वटा कम्पार्टमेन्टमा विभाजन गरिएको छ । आर्थिक वर्ष २०७९÷०८० देखि २०८८÷०८९ सम्मको १० वर्षे कार्ययोजनाअनुसार ८० वर्षे पाली चक्र र १० वर्षे पुनरुत्पादन अवधिलाई आधार मानेर ‘आन्तरिक छहारी प्रणाली’ मार्फत रुख कटानी, संरक्षण तथा वृक्षारोपणका काम सञ्चालन भइरहेको जानकारी दिइएको छ । कार्यक्रममा नेपालको संविधान २०७२ ले वन तथा प्राकृतिक स्रोत व्यवस्थापनका सम्बन्धमा गरेको संवैधानिक व्यवस्थाबारे पनि छलफल गरिएको थियो ।

 

नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वन व्यवस्थापनमा सञ्चार माध्यम र पत्रकारिताको भूमिकाबारे धारणा राख्नुभएको थियो ।

पत्रकार महासंघका उपाध्यक्ष खगप्रसाद चापागाईको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सहसचिव कृष्णप्रसाद पौडेलले गर्नुभएको थियो । अन्तक्र्रियापछि पत्रकार र वनकर्मीको टोलीले तिलौराकोट साझेदारी वन क्षेत्रको स्थलगत अवलोकन गरी वैज्ञानिक वन व्यवस्थापनका अभ्यास, संरक्षणका गतिविधि तथा सञ्चालन भइरहेका कार्यक्रमबारे प्रत्यक्ष जानकारी लिएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu